सदरलाइनडटकम,
काठमाण्डौ : आईतवार राति उल्का वर्षा हुने भएको छ । हेलीको पुछ्रेताराका कारण हुने मृघशिरा उल्का वर्षा राति पौने ११ बजेदेखि सोमवार बिहान पौने ६ बजेसम्म देख्न सकिने वैज्ञानिकहरुले बताएका छन् ।
उल्कावर्षा हेर्न सोमवार बिहान पौने ४ बजे पछिको समय उत्तम हुने उनीहरुले बताए । नेपाल एस्ट्रोनोमिलकल सोशाइटी नासोका अध्यक्ष सुरेश भट्टराईका अनुसार अत्याधिक उल्का वर्षाको बेला प्रति घण्टा २० सम्म उल्का देखिने अनुमान गरिएको छ ।
उल्का वर्षाको गति प्रति सेकेण्ड ६७ किलोमिटरसम्म हुने भएकोले करिब ७० किलोमिटर माथि वायुमण्डलमा घर्षण उत्पन्न भई यस्तो दृश्य देखिने भट्टराईले जानकारी दिए ।
किन हुन्छ उल्का वर्षा ?
पुछ्रेताराले सूर्यको परिक्रमा गर्ने क्रममा सूर्यको नजिक पुग्दा आफ्नो कक्षमा धुलोका कण र चट्टानहरु छोड्ने गर्दछ । जब पृथ्वीले सूर्यको परिक्रमा गर्ने क्रममा पुछ्रेताराको उक्त कक्षको नजिक आइपुग्छ, त्यति बेला धुलोका कण र चट्टानहरु पृथ्वीको वायुमण्डलमा तीब्र गतिले ठोक्किएर जल्ने भएकोले यसैलाई उल्का वर्षा भन्ने गरिएको छ ।