राप्तीसोनारीका १३८ युवायुवतीलाई सीपमूलक तालिम

सदरलाइन संवाददाता १८ असार २०८०, सोमबार १४:५९
 

राप्तीसोनारी (बाँके) : राप्तीसोनारी गाउँपालिकाका नौ वटै वडाका १ सय ३८ जना युवायुवतीलाई एकैपटक विभिन्न आधारभूत सीपमूलक तालिम दिइएको छ । सीपमूलक तालिम दिएर आत्मनिर्भर गराउने उद्देश्यले एकैपटक ठूलो संख्यामा युवायुवतीलाई तालिम दिइएको हो ।

हातमा कुनै सीप नहुँदा आत्मनिर्भर हुन र रोजगारी पाउन समेत समस्या हुने भएकाले सीपमूलक तालिम प्रदान गरिएको लुम्बिनी प्रदेश सांसद कृष्णा केसी (नमुना) ले बताइन् । ‘सोही समस्यालाई ध्यान दिएर आधारभूत तहको तालिम दिएका हौं,’ उनले भनिन् । सांसद केसीले आफ्नो संसद् विकास कोषबाट विनियोजन गरेको ४९ लाख रुपैयाँबाट तालिम दिइएको थियो । तालिम सञ्चालन भने जिल्ला घरेलु तथा साना उद्योग कार्यालय बाँकेले गरेको कार्यालय प्रमुख रमेशबहादुर बुढाथोकीले जानकारी दिए ।

उनका अनुसार मोबाइल मर्मत, सिलाइकटाई, कम्प्युटर, ब्युटिसियन र हाउस वाइरिङ तालिम सञ्चालन गरिएको थियो । वडा नम्बर १ का १५ जनालाई मोबाइल मर्मत, २ का १६, ३ का १७, ६ का १५ र ८ का १६ जनाले आधारभूत सिलाइकटाई तालिम पाएका थिए ।

त्यस्तै वडा नम्बर ४ का १६ जनालाई बेसिक कम्प्युटर, वडा नम्बर ५ का १७ र ९ का १६ जनालाई ब्युटिशियन तथा वडा नम्बर ७ का १५ जनालाई हाउस वाइरिङ तालिम दिइएको थियो । तालिममा सहभागीहरूलाई विभिन्न सामग्रीहरू समेत प्रदान गरिएको थियो ।

‘सबै तालिमहरू सम्पन्न भइसकेका छन्,’ कार्यालय प्रमुख बुढाथोकीले भने, ‘तालिममा युवायुवतीहरूको उत्साहजनक सहभागिता रहेको थियो ।’ नरैनापुर र राप्तीसोनारी गाउँपालिकामा सीपमूलक तालिम सञ्चालनको लागि सांसद केसीले ७० लाख रुपैयाँ छुट्याए पनि २१ लाख रुपैयाँ भने फिर्ता भएको उनले जानकारी दिए ।


तालिममा सहभागीहरूले माथिल्लो तहको तालिमका लागि सांसद केसीलाई आग्रह गरेका छन् । ‘माननीयज्यूले हामीलाई तालिमको लागि बजेट छुट्याइदिएर ठूलो गुण लगाउनुभएको छ,’ सिलाइकटाई तालिममा सहभागीले भने, ‘हामीले आधारभूत तहको तालिम सिक्न पायौं । अब डिप्लोमा तहको तालिमको लागि बजेट छुट्याइदिनुहुन्छ भन्ने आशा राखेका छौं ।’

अधिकांश प्रशिक्षार्थीहरूले माथिल्लो तहको तालिम वडामा सिक्ने अवसर पाए आत्मनिर्भर र रोजगारीका लागि सहज हुने बताएका थिए । आधारभूत तहको तालिमले सबै कुरा गर्न नसकिने बताउँदै तालिममा सहभागी गीता थारूले डिप्लोमा लेवलका तालिमहरू भए अझै राम्रो हुने बताइन् ।

‘यो तालिमले हामीलाई धेरै कुरा सिकाएको छ । तर हामी अझै पूर्ण भएका छैनौं,’ उनले सांसद केसीसँग भनिन्, ‘माननीय सांसदज्यूले आगामी वर्ष डिप्लोमा तहको तालिमको लागि पहल गरिदिनुहुन्छ भन्ने हामीले अपेक्षा राखेका छौं ।’ केसीले आगामी वर्षमा एड्भान्स तालिमको व्यवस्था गरिने बताएकी छन् ।

आधारभूत लेवलको तालिमले मात्र नहुने बताउँदै उनले थप माथिल्लो तहको तालिमको लागि पहल थालिएको बताइन् । ‘तपाईँहरू तालिममा सहभागीहरूकै माग अनुसार मैले आगामी वर्षको बजेटमा डिप्लोमा तहको तालिमको लागि बजेट छुट्याउँछु,’ सांसद केसीले भनिन्, ‘तपाईँहरूले पनि अहिले सिकेको सीप त्यतिबेलासम्म बिर्सिने काम नगर्नुहोला ।’

आफूले सिकेको सीप अनुसार सामानहरू समेत पाइएकोले त्यसलाई घरमा प्रयोगमा ल्याउनका लागि उनले सबैलाई सुझाव दिइन् । आधारभूत तालिम सिकेकाहरूलाई अन्य विभिन्न निकायमा हुने तालिममा समेत सहभागी गराउने आफ्नो प्रयास हुने सांसद केसीले बताइन् । ‘कोहलपुर, नेपालगञ्ज लगायतका स्थानमा केही संख्यामा तालिमहरू भइरहेका हुन्छन् । थप तालिमका लागि म त्यहाँ पनि पहल गर्छुँ,’ उनले भनिन्, ‘केही परेमा मलाई मेरो नम्बरमा फोन समेत गर्नुहोला । म तपाईँहरूलाई सक्ने जति सहयोग गर्न तयार छुँ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्राविधिक विश्वविद्यालयको पहिलो वार्षिक उत्सव सम्पन्न

१८ असार २०८०, सोमबार १४:५९
नेपालगञ्ज :  लुम्बिनी प्राविधिक विश्व विद्यालयको पहिलो वार्षिक उत्सव नेपालगञ्जमा औपचारिक कार्यक्रमको आयोजना गरि मनाईएको छ । लुम्बिनी प्रदेश सरकारको गौरवको योजना मध्येको एक लुम्बिनी विश्वविद्यालय स्थापना भएको एक वर्षमै शैक्षिक गतिविधि सञ्चालन गर्ने गरी अघि बढेको हो । वार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि बाँके क्षेत्र नं ३ बाट प्रतिनिधि […]