डुडुवा (बाँके) : बाँकेको डुडुवा–६ मा रहेको जयेन्दु बालसुधार गृहमा रहेका बाल विज्याईकर्ताहरुबीच झडप हुँदा बालविज्याईकर्ता तथा प्रहरी गरी करिव डेढ दर्जन बढी घाइते भएका छन । उनीहरुले आगजनी समेत गरेका थिए ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता समेत रहेका प्रहरी नायव उपरिक्षक दिपक पातलीले हिजो रातीदेखि भएको झडपमा परेर दुबैतर्फ करिब डेढ दर्जन घाइते भएको र उनीहरुको विभिन्न अस्पतालमा उपचार भई रहेको जानकारी दिए ।
बालसुधार गृहमा शुक्रबार राति ११ बजेतिर दुई समुहबीच झडप भएकोे थियो । त्यसपछि ठूलो संख्यामा प्रहरी घटनास्थलमा पुगेर राती डेढ बजेतिर घाइतेको उद्दार गरेको थियो ।
प्रहरीलाई भित्र जान नदिइ बालबिज्याईकर्ताहरुले आफुबस्ने घरमा ग्राउण्ड फ्लोरमा आगजनी गरी तेस्रोतलाको छतमा गएर प्रहरीमाथि दुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिनको लागि प्रहरीले सामान्य बल प्रयोग गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिए ।
उनले भने–‘तल्लो तलामा आगजनी गरी छतमा गएर बसेका बालविज्याईकर्ताहरुको जीवन जोगाउनको लागि सामान्य बल प्रयोग गरीएको छ । स्थिति नियन्त्रणमा रहेको छ ।’ उनले आगजनी गरेको घरको आगो पूर्ण रुपले निभाएको बताए ।


दुईसय ५५ जना बिभिन्न कसुरमा अनुसंन्धानमा रहेका बालविज्याइकर्ताहरु सो बालसुधार गृहमा बस्दै आएका थिए । घटनापछि कति भागे भन्ने यकिन हुन सकेको छैन ।
यहाँ पटक–पटक झडप हुने गरेको छ । केही दिन अघिमात्रै सो सुधारगृहको सुरक्षामा खटिएका तीन जना प्रहरीलाई कुटेका थिए ।
यसअघि झडप गरिरहनेहरूलाई प्रहरीले नौबस्ता सुधार गृहमा स्थानान्तरण गरेको थियो । त्यहाँ पनि पटक–पटक झडप हुने गरेको छ । केही भागेका थिए, अझै फेला परेका छैनन् ।
बालसुधार गृह सुरक्षा चुनौती बनिरहेको छ । साधा पोषाकमा खटिने हुँदा प्रहरीले बल प्रयोग गर्दैन । भित्र रहेका बालबिज्याईकर्ताहरु आपसमा लडिरहने गर्दा सुरक्षा चुनौती बन्दै गएको हो । १८ वर्ष नपुगेलाई राख्न बनाइएको बाल सुधार गृहमा २८–२९ वर्षकासम्म बसाउँदा सधै लफडा हुने गरेको जानकारहरू बताउँछन् ।