२०८३ कात्तिक ३ , सोमबार
Sadarline
२०८३ कात्तिक ३ , सोमबार

३० वर्षदेखि उपभोग गर्दै आएको एैलानी जमिनमा घर बनाउदा जमिन्दारले अदालतबाट रोक्का लगाएपछि विचल्लीमा रैदास परिवार



सदरलाइन / रुद्र सुवेदी
१९ मंसिर नेपालगन्ज : ‘जाँहा पातलो त्याहाँ प्वाल’ भने झै बाँके जानकी गाउपालिका–२ बकोटियाका दुईघर चमार परिवारको लागि माथिको उक्ति ठ्याक्कै मिल्दो भएको छ । तिस वर्षअघिदेखि गाँउको किनारमा रहेको ठूलो खाडलको छेउमा ऐलानी प्रति जमिनमा बुकुरो बनाएर बस्दै तराईका सिमान्तकृत तथा दलित समुदायकी माया रैदास (चमार) को पक्की घरमा बस्ने सपना पनि अधुरै रहने भएको छ ।
जनता आवास योजना मार्फत पक्की घर बनाउदै गरेकी मायाको सपना त्यतिबेला चकनाचुर भयो जतिबेला उनकै संधियार रहेका काँशीराम कुर्मीले जग्गा खिचोलोको मुद्दा दिदै निर्माण तत्काल रोक्नु भनेर बाँके जिल्ला अदालतको म्याद आयो । मायाले यो वर्ष जनता आवासमार्फत घरबनाउदा अर्को वर्ष प्रहलाद चमारले घर बनाउन पाउने आशा समेत समाप्त भएको छ । प्रहलाद मायाका जेठाजुका छोरा हुन ।
उमेरले ५५ नाघेकी मायाको नाउमा बसेको ठाँउमा रहेको जमिन बाहेक नेपालभर कही कतै एकधुर अन्य जमिन छैन तर, संधियार काँशीरामसंग प्रसस्त जमिन हुँदाहुँदै पनि जग्गा खिचौलोको मुद्दा दिएर सरकारी अनुदानमा बन्दा बन्दैको घरको निर्माण कार्य रोक्नु परेको बताईन । ‘भनेको समयमा घर निर्माण गर्न सकिन भने पाएको रकम पनि सबै फिर्ता जन्छ भन्छन हाकिम साव तर, जग हाल्दा नहाल्दै घर नबनाउ भनेर अदालतको चिठी आयो’–अदालतको म्याद देखाउदै उनले भनिन् ।


मायाले वडा कार्यालयमा घरधुरी कर तिरेको रसिद, विद्युतको रसिद हुँदा पनि आफुलाई अनाहकमा सताउने गरेको बताईन । उनी बसेको ठाँउ २ नंम्बर वडामा पर्छ तर, अचम्म ३ नं. वडाका वडा अध्यक्ष विन्देश्वरी बर्मा कुर्मीले मायालाई वडा कार्यालयको लेटरप्याड प्रयोग गर्दै घर निर्माण रोक्नु भनेर पत्र समेत काटेका छन् । उनले केही महनिा अघिको घटना सम्झदै भनिन्–‘एका विहानै काँसीराम आफ्ना केही सहयोगीसंगै आएर भने यहाँ बस्ने हो भने काँग्रेसको विरुवामा भोट हाल्नु नत्र बस्न दिन्न भनेर गए । निर्धक्क बस्न र झै झगडाबाट मुक्त हुने आशमा गएको स्थानीय निर्वाचनमा काँग्रेसलाई भोट हाले अहिले झन बस्ने घर नै बनाउन दिएन ।’


‘मेरा ससुराका दुई भाई गाउमा बस्न नसक्ने भएपछि ३० वर्ष अगाडि यो ठाँउमा आएका हुन । म विवाह गरेर आउदा पनि यहाँ ठूलो र गहिरो खाल्टो थियो जसोतसो गरेर खाल्टो पुरेर बुकुरो बनाएर गुजारा चलाउदा चलाउदै मेरा ससुरा र श्रीमानको समेत मृत्यु यही भयो तर, अहिले जनता आवसबाट मेरो पक्कि घर बन्ने भएपछि ठूला जातका जमिन्दारले सहेनन’–उनले दुखेसो पोखिन ।
नजिकै रहेका उनका छोरा राजेश रैदास (चमार)ले आक्रोश पोख्दै भने–‘ काँशीरामसंग जति पनि जमिन हुँदाहुँदै पनि किन हामी बसेको ऐलानी जमिनमा आँखा गाडेर हामीलाई अनाबश्यक दुख दिदै आएको छ ।’ राजेशले काँशीराम ठूलो जातको जमिन्दार भएर आफुहरुमाथि थिचोमिचो गर्दै आएको आरोप समेत लगाए । उनले भने–‘हाम्रो बाजेहरुले चर्चेको आधा जमिनमा अहिले उस्ले कब्जा गरेको छ । सानो टिपिक्कै घर मात्र बनाउने ठाँउ पनि त्यसले नदिएर हाम्रो उठीबास लगाउन खोज्दै छ ।’
जानकी गाउपालिका–वडा नं. २ को बकोटिया गाउ भन्दा ४ सय मिटर टाढा घर बनाएर बसेका चमार परिवारले ३० बिताएको सो ठाँउमा गाउमा मरेको पशु (सिनो) फालेको दुर्गन्ध सहेरै भए पनि बस्दै आएको भएपनि बेलाबेलामा काँशीरामको परिवारले गर्दै आएको थिचोमिचो झनै सहनै पर्ने बाध्यता रहेको राजेश बताउछन् ।
उनले भने–‘ घर बनाउनलाई जग खने, पुरानो घर भएको ठाँउ भन्दा केही जमिन छाडेर जग खनेको छु तर, २–३ पटक आएर जग पुरीदियो । ठूलो जात र जमिन्दार भए जे पनि गर्न पाईन्छ र ?’


नेपालगन्ज–गौघाट सडक मै पर्ने भएकोले पनि काँशीरामले आफ्नो जमिनको अगाडिको मोहडामा रहेको ऐलानी जमिनबाट रैदास परिवारलाई विस्थापित गर्न सके जमिनको मुल्य बढ्ने सोचले उनीहरुलाई पटक–पटक अनावश्यक दुख्ख दिदै आएको उनीहरु बताउछन् ।
‘सहमतिमा बाटो खोज्ने हो भने हामी दिन तयार छौ जति हामी अगाडि छाड्छौ त्यति नै जमिन तिमिले कब्जा गरेको ऐलानी जमिनबाट देउ भन्दा त्यो पनि मन्दैन । तीनपुस्ता अघिदेखि बस्दै आएको ऐलानी जमिन छाडेर जाँउ त कहाँ जाउ । नापी ल्याएर आ–आफ्नो जमिन छुट्टयाउ भन्दा पनि मान्दैन । के सबै ठूला ठालु र जमिन्दारको मात्रै हो र हाम्रो कही केही छैन’– राजेशले भने ।
उनको नजिकै रहेका प्रहलादक चमारकी पत्नी उषा चमारले धेरैपटक काँशीराम कुर्मी परिवारको अत्याचार सहनु परेको बताईन । उनले आफुहरुले लामो समयदेखि चर्चेको ऐलानी जमिन अलिअलि गर्दै कब्जा गरेर त्यसमा रुख रोपेको र प्रसस्त जमीन भएपनि अनेकन अत्याचार गर्दै आएको दुखेसो पोखिन ।  दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएको चमार परिवारलाई अदालतको पूर्जी आएदेखि झनै समस्यामा परेको बताउछन् । ‘न पैसा छ न त बोलि दिने नै कोही छ । उनीहरु ठूला जातका ठूला मान्छे पैसा पनि उनीहरु संगै छ अव कसरी न्याय पाउने हो’–एकै स्वरमा भने ।
यसैबीच काँशीराम कुर्मीले आफ्नो जमिनमा रैदास परिवार अनाहकमा कब्जा गरेर बस्दै आएकोले आफुले रोक्का गर्नु परेको बताए । उनले भने, पहिला कच्चि घर बनाएर बसेका थिए बस्ने ठाँउ छैन भनेर अस्थाई रुपमा बस्न दिदा उनीहरुले त्यसलाई कमजोरी ठानेर पक्की घर बनाउन लागे पछि रोक्का गरेको हुँ । उनले आफ्नो जमिन रैदास परिवारले कब्जा गरेर बसेको कारण आफ्नो जमिनमा आउनको लागि अरुको जमिनबाट आउनु परेको गुनासो समेत गरे ।

प्रकाशित मिति : २०७४ मंसिर १९ गते मंगलबार
ताजा समाचार