संविधानको रक्षाको लागि भोट माग्दै लोकतान्त्रिक गठबन्धन आक्रमक बन्दै

१० मंसिर २०७४, आईतवार १८:४७
 

सदरलाइनडटकम 
१० मंसिर, नेपालगन्ज  : नेपाली कांग्रेसका केन्द्रीय सदस्य किशोरसिंह राठोरल लोकतन्त्रको रक्षा, आर्थिक विकास, समृद्धि र संविधान कार्यान्वयनका लागि कांग्रेसलाई साथ दिन आह्वान गरेका छन् ।
बाँकेको क्षेत्र नम्बर ३ अन्तर्गत्को प्रदेश सभा ३ क को उढरापुर गिजराबस्तीमा आइतबार आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले लोकतन्त्रको नाम भजाएर कम्युनिष्ट शासन ल्याउन खोज्नेहरुदेखि सतर्क रहन आग्रह गरे । उनले संविधानसभाबाट प्राप्त ऐतिहासिक संविधानलाई असफल बनाएर मुलुकलाई कंगाल बनाउने उद्देश्यले अभिप्रेरित बाम गठबन्धनलाई परास्त गर्न सके मात्र मुलुक समृद्धिको बाटोमा अघि बढ्न सक्ने उद्घोष गरे ।
नेपाली कांग्रेस बाँकेकी सभापति किरण कोइरालाले विश्वभर असफल र झण्डै लोप हुने अवस्थामा रहेको कम्युनिष्ट शासन ल्याएर जनतालाई अझ गरिब बनाउने खेल सुरु भएको भन्दै नेपाली जनताले कदापि यो अपवित्र कर्मलाई अनुमोदन नगर्ने दृढता व्यक्त गरिन् ।
सभालाई नेपाली कांग्रेस बाँकेमा पूर्व सभापति युवराज शर्मा, प्रतिनिधि सभा ३ का उम्मेदवार बादशाह कुर्मी, प्रदेश सभा ३ क का उम्मेदवार चन्तराम थारु लगायतले सम्बोधन गरेको प्रदेश सभा ३ क का प्रचारप्रसार संयोजक प्रकाश शाहीले बताए ।
गिजराबस्तीको ऐलानी जग्गाको लालपूर्जाका लागि आफूहरुले पहल गर्ने नेताहरुले बताएका थिए । सडक, विजुली, खानेपानी लगायतका विकासे मुद्दामा कुनै कसर बाँकि नराख्ने उनीहरुको प्रतिबद्धता थियो ।
यसैबीच मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन संघार मै आउँदा उम्मेदवारहरुलाई आफ्नो पक्षमा माहोल बनाउन चटारो छ । उम्मेदवारहरुले चुनावी सभा, कोणसभा र घरदैलो मार्फत् प्रचारप्रसारलाई आक्रामक बनाएका छन् । बाँकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले आइतबार पनि प्रचारप्रसारलाई तिब्रता दिए ।
लोकतान्त्रिक गठबन्धनका प्रतिनिधिसभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री दिनभर विनौना र बैजापुर क्षेत्रमा घरदैलोमा व्यस्त रहेका छन् । प्रदेशसभा १ क का उम्मेदवार शरदचन्द्र बर्मा पनि खत्रीसंगै घरदैलोमा थिए ।
प्रदेशसभा १ ख का उम्मेदवार नारायण गौडेलले आइतबार कोहलपुर नगरपालिका वडा नम्बर ७ का लख्ना र रजगडुवामा घरदैलो गरेको सचिवालय संयोजक भूम भण्डारीले जानकारी दिए ।
प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार ओमप्रकाश आजाद प्रिपहवा र धम्बोझी क्षेत्रमा आइतबार दिनभर प्रदेशसभा २ ख का उम्मेदवार सुरेन्द्र हमाल र बसुदेवपुरमा प्रदेशसभा २ क का उम्मेदवार निरन्जनसिंह सिंजापतिसंगै घरदैलोमा व्यस्त रहेको राप्रपाका नेता ऋषिराज देवकोटाले बताए । सिंजापतिले नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १९ का खटिलिया, कण्ठीपुरुवा, आलानगर, मन्दिपुरुवामा घरदैलोमा रहेको जानकारी दिए ।
प्रतिनिधि सभा क्षेत्र नम्बर ३ का उम्मेदवार बादशाह कुर्मी र प्रदेश सभा ३ ख का उम्मेदवार लक्ष्मीनारायण शाह आइतबार खजुराको ई गाउँमा आयोजित कोणसभा र घरदैलोमा व्यस्त रहेको प्रचारप्रसार सचिवालय संयोजक रमेश सिंजालीले बताए । त्यस्तै कुर्मी र प्रदेशसभा ३ क का उम्मेदवार चन्तराम थारुको संयुक्त चुनावी सभा उढरापुर गिजराबस्तीमा सम्पन्न गरिएको प्रकाश शाहीले जानकारी दिए ।


 

Next Post

एकीकृत राप्रपा राष्ट्रवादीको घरदैलो र प्रचार अभियान जारी

१० मंसिर २०७४, आईतवार १८:४७
सदरलाइनडटकम १० मंसिर, नेपालगन्ज : एकीकृत राप्रपा राष्ट्रवादी पार्टिका सहायक प्रवक्ता बाँके क्षेत्र नम्वर २ प्रतिनिधि सभा सदस्य पदका उमेदवार तेजनारायण कडेल र प्रदेश सभा सदस्य पदका उम्मेदवार हरदेव वक्स चौधरीको टोलीले नेपालगंज उपमहानगरपालिका वडा नम्वर १० भृकुटीनगर र आदर्शनगरमा विभिन्न व्यक्तिहरुसंग भेटघाट गरेको छ । सो अवसरमा आसन्न निर्वाचनमा […]