नेपालगञ्ज : बजारमा प्लास्टिकका भाँडा आएपछि माटाका भाँडा बनाउने कुमाल समुदाय आफ्नो परम्परात पेसाबाट विस्थापित हुँदै गएका छन् । परम्परादेखि नै माटाका भाँडा बनाउँदै आएका बाँकेका विभिन्न ठाउँका कुमाल समुदायले माटाका भाँडा बनाउन छाडेर अन्य पेसामा लागेका छन् ।
माटाका भाँडा बिक्री हुन छाडेपछि उनीहरू ज्यालामजदुरी, घर बनाउने काममा लागेका हुन् । परम्परादेखि नै माटाका भाँडा बनाउने पेसा गर्दै आएका कुमाल समुदायका सबैजसो मानिस आफ्नो परम्परागत पेसाबाट विस्थापित बनेको स्थानीय बासिन्दाले बताएका छन् ।
बजारमा प्लास्टिकका भाँडा आएपछि कुमाल समुदायले माटाका भाँडा बनाउन छाडेको नेपालगञ्जका विष्णु कुमालले बताए । उनले भने, “माटाका भाँडा बिक्न छाड्यो, अन्य पेसा नगरी जीविका चलाउन सकिएन ।”
एक÷डेढ दशकअघिसम्म यहाँका अधिकांश कुमाल समुदायले माटाका भाँडा बनाएर बिक्री गर्ने प्रचलन थियो तर अहिले माटाका भाँडा बनाएर पनि बिक्न गाह्रो भएको उनले बताए ।
भाँडा बनाए पनि अहिले प्लास्टिकका भाँडासँग प्रतिस्पर्धा गर्न गाह्रो भइरहेको कुमाल समुदायको भनाइ छ । बजारमा सस्तो प्लास्टिकका भाँडा पाएपछि कुमाल समुदायले बनाएका हाँडी, मटिया, खुत्रुके, घैँटा आदि बिक्री हुन छाडेको उनले बताए ।
माटाका भाँडा बनाउन आवश्यक कच्चा पदार्थ कालो माटोको अभावले पनि माटाका भाँडा बनाउन धेरै गाह्रो भएको कुमालेहरूको बुझाइ छ । बढ्दो आधुनिकता र प्लास्टिकका भाँडाको प्रयोगले माटाका भाँडा बनाउने पेसालाई व्यावसायिकीकरण गर्न नसकेको ती समुदायका बासिन्दा बताउँछन् । माटाका भाँडा बनाउने काम तथा सीपलाई कुनै पनि निकायबाट सहयोग नहुँदा पनि यो पेसालाई निरन्तरता दिन समस्या भएको स्थानीयले बताएका छन् ।
माटाका भाँडा बिक्न छाडेपछि यहाँका सबैजसो परिवार विभिन्न ठाउँमा मजदुरीका लागि जाने गरेका छन् ।