सदरलाइनडटकम
१० भदौ, बर्दिया : लायन्स क्लव ईन्टरनेशनल, डिष्टिक ३२५ बि १ र बि २ ले गत साउन २८ गते आएको बाढीका कारण विस्थापित बर्दिया गुलरियाका पीडितहरुलाई घर बनाउन जस्ता पाता सहयोग गरेको छ ।
बर्दियाको गुलरिया नगरपालिका कार्यालय परिसरमै एक कार्यक्रमको आयोजना गरी गुलरिया नगरपालिका वडा नं. ५ र १० का ६५ परिवारलाई २ बण्डलका दरले जस्ता पाता सहयोग गरेको हो ।
सो राहत वितरण कार्यक्रममा लायन्स क्लव डिष्टिक ३२५ बि२का डिष्टिक गर्भनर लायन मधुसूदन शर्मा रिजालले लायन्सले सेवा भावले ल्याएको राहतको जस्ता पाता जिल्ला दैवि प्रकोप उद्दार समितिको सिफारिसमा गुलरिया नगरपालिकाको ५ र १० वडाको ६५ घरधुरीलाई सो राहत उपलब्ध गराएको बताए ।
उनले भने,देशभरको बाढीको प्रकोप भएका ठाँउमा पहेलो ज्याकेटमा लायन्सका सदस्यहरु राहतको सामाग्री लिएर पुगेका छन् । सो कार्यक्रममा लायन्स क्लव अफ ईन्टरनेशनल डिष्टिक ३२५ बि १ का सिनियर एडभाईजर राम बस्यालले जसरी भुकम्पले थिलोथिलो भएको बेलामा बाँके र बर्दियाले पोखरा, गोर्खालगायतका ठाँउमा राहत पठाएको स्मरण गर्दै गुण तिर्न आफुहरु आएको बताए ।
लायन पञ्चलाल नापितको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा बर्दियाका निमित्त प्रमुख जिल्ला अधिकारी गञ्जबहादुर एमसी, क्लवका पूर्व डिष्टिक गर्भनर लायन सेम शाक्य, गुलरिया नपाका मेयर मुक्तिनाथ यादव, उपमेयर सुशीला गिरी, वडा नं. ५ का वडा अध्यक्ष सावित्रा गौतम, १० का वडा अध्यक्ष बिरेन्द्र चौधरीलगायतले बाढीले बर्दियामा पुराएको क्षति र राहतको बारेमा बोलेका थिए ।
यसैगरी बर्दियाको गुलरिया नगरपालिका–२ संगम बस्तीका २ सय बाढीपीडित परिवारलाई एक महिना बढी खान पुग्ने करिब १० लाख बराबरको खाद्यान्न राहत बितरण गरिएको छ ।
बबई नदी र स्थानीय खहरे खोलामा आएको बाढी गाउँमा पस्दा घरमा रहेका खाद्यान्न, भाडाकुडा र घरहरु समेत बगेर घरबार विहिन भएका संगम बस्तीका २ सय पीडित परिवारलाई सो बस्ती मै पुगेर हालसम्मकै सबैभन्दा ठूलो राहत प्याकेज वितरण गरिएको हो ।
गोस्पल एसेम्बली नेटवर्क नेपाल (ज्ञान नेपाल) द्धारा उपलब्ध गराईएको राहात सामाग्रीलाई गुलरिया नगरपालिका वडा नम्बर २ का वडा अध्यक्ष टंकप्रसाद अधिकारी, गुरुबा केवी बसेल र ज्ञान नेपालका अध्यक्ष शुसिला बसेलले संयुक्त रुपमा पीडित परिवारलाई वितरण गरेका थिए ।