नेपालगञ्जमा ट्रान्सपोर्ट भिलेज निर्माण गरिँदै

सदरलाइन संवाददाता २५ मंसिर २०८०, सोमबार १७:४८
 

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरको व्यस्त बजारमा ढुवानीका ठुला–साना साधनले ट्राफिक व्यवस्थापनमा दिनदिनै समस्या बढ्न थालेपछि समस्या समाधानका लागि ढुवानी व्यवसायीले स्वयम् ट्रान्सपोर्ट भिलेज निर्माणमा लागेका छन् ।

एकै ठाउँमा ढुवानीका साधन लोड अनलोड गर्ने योजनाअनुरूप सो भिलेज निर्माण प्रक्रिया थालेका हुन् । ढुवानी व्यवसायीको सङ्गठन भेरी ढुवानी सङ्घका अध्यक्ष त्रियोगी अग्रवालले ढुवानीका साधनले गर्दा ट्राफिक व्यवस्थापनमा असर परेर दुर्घटना समेत हुन थालेकाले त्यसको विकल्पमा नेपालगञ्जमा ट्रान्सपोर्ट भिलेज निर्माणको अवधारणा अगाडि सारेर काम भइरहेको बताए ।

उनले ट्रान्सपोर्ट भिलेजलाई दीर्घकालीन रूपमा व्यवस्थापन गर्न नेपालगञ्ज उपमहानगरपालिकासँग सहयोग मागिएको र सोबारे नगर प्रमुख प्रशान्त विष्ट पनि सकारात्मक रहेको बताए ।


नेपालगञ्जको वाटरपार्क नजिकको २० कठ्ठा जग्गा भाडामा लिएर ट्रान्सपोर्ट भिलेज बनाउनेगरी आफूहरू अघि बढेको अध्यक्ष अग्रवालले बताए । भेरी ढुवानी सङ्घका सचिव रामचन्द्र भामले बुटवलमा पनि सोही प्रकारको समस्या भएपछि त्यहाँ ट्रान्सपोर्ट भिलेज निर्माण शुरु गरिसकिएकाले यहाँ पनि सोही प्रकारको योजना अघि सारिएको बताए ।

उनले सडकमा ढुवानीका साधन खडा गर्दा प्रहरीले हटाउने र ती साधनले ट्राफिक व्यवस्थापनमा समस्या पनि बढ्ने भएकाले छुट्टै ट्रान्सपोर्ट भिलेज निर्माणको विकल्प नरहेको बताए । त्यसबारे नेपालगन्ज उपमहानगरका प्रमुख विष्टसँग जानकारी माग्दा उनले ढुवानीका साधनले गर्दा सुर्खेत रोडको ट्राफिक व्यवस्थापनमा निकै समस्या हुँदैआएकाले ट्रान्सपोर्ट भिलेज निर्माणको प्रस्ताव लिएर व्यवसायीहरू आउनुभएको बताए ।

एकै ठाउँमा मालवाहक सबै सवारी साधन आएर लोड अनलोड गरेमा सहज हुनुका साथै ठेला र रिक्साको पनि व्यवसाय बढ्ने हुँदा यो योजना राम्रो रहेको उनले बताए । नेपालगञ्ज पश्चिम नेपालकै ठुलो व्यावसायिक सहर भएकाले यहाँ भारत र नेपालका विभिन्न ठाउँबाट दैनिक सयौँको सङ्ख्यामा ठुला गाडीहरू मालसामान लिएर आउने गरेका छन् । (गोरखापत्रबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

नेपालगञ्ज १८ मा अर्को पुर्वाधार निर्माण कार्य शुरु

२५ मंसिर २०८०, सोमबार १७:४८
नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं १८ मा एक हप्ता नबित्दै अर्को पुर्वाधार बिकास निर्माण कार्य शुरु भएको छ । वडाअध्यक्ष दिपक बर्माको पहलमा परेको बजेटमार्फत वडामा पुर्वाधार बिकास निर्माण कार्य शुरु गरिएको हो । निर्माण कार्यको वडाअध्यक्ष बर्माले मंगलबार एक समारोहकाबीच सिलान्यास गगरेका छन् । सुर्खेतरोडमा रहेको पुर्व यातायात […]