
नेपालगञ्ज : ७१औँ प्रहरी दिवस–२०८३ को अवसरमा बाँकेको खजुरामा रहेको इलाका प्रहरी कार्यालय धनौली देशभरका इलाका प्रहरी कार्यालयमध्ये उत्कृष्ट बन्दै सर्वोत्कृष्ट प्रहरी कार्यालय घोषित भएको छ ।
प्रहरी प्रधान कार्यालय, नक्सालमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले कार्यालयका प्रमुख प्रहरी निरीक्षक नवीन प्रकाश चापागाईंलाई प्रशंसापत्र प्रदान गरेका हुन् ।
देशभरका प्रहरी निरीक्षक तथा प्रहरी नायब उपरीक्षकको नेतृत्वमा रहेका इलाका प्रहरी कार्यालय, प्रहरी वृत्त, वडा प्रहरी कार्यालय र प्रहरी प्रभागबीच गरिएको कार्यदक्षता मूल्याङ्कनमा धनौलीले उत्कृष्ट नतिजा हासिल गरेको जनाइएको छ । प्रतिस्पर्धात्मक मूल्याङ्कनमा पहिलो स्थान हासिल गरेसँगै कार्यालयले प्रतिष्ठित ‘पुलिस ब्याटन’ प्राप्त गर्दै राष्ट्रियस्तरमा आफ्नो उत्कृष्टता स्थापित गरेको छ ।
प्रहरी संगठनमा कार्यदक्षता, अनुशासन, नेतृत्व क्षमता र नागरिकलाई प्रदान गरिने सेवाको प्रभावकारितालाई प्रोत्साहन गर्ने उद्देश्यले यस्तो मूल्याङ्कन गरिन्छ । यसमा कार्यालय प्रमुखको नेतृत्व क्षमता मात्र नभई मातहतका प्रहरी कर्मचारीको परिचालन, संगठनात्मक अनुशासन, जिम्मेवारीबोध, इमानदारी, निष्ठा तथा समग्र कार्यसम्पादनलाई समेत महत्व दिइने जनाइएको छ ।
प्रहरी निरीक्षक चापागाईंको नेतृत्वमा धनौलीले हासिल गरेको यो सफलता कार्यालयको नियमित कार्यसम्पादन र संगठनात्मक जिम्मेवारीसँग जोडिएको उपलब्धिका रूपमा हेरिएको छ ।












प्रतिक्रिया दिनुहोस्