समाचार सारांश
- नेपालगञ्ज उपमहानगरपालिका–२ स्थित हनुमानगढीमा निर्माणाधीन १०८ फिट अग्लो दक्षिणमुखी हनुमानको मूर्ति ९० प्रतिशतभन्दा बढी सम्पन्न भई अन्तिम चरणमा पुगेको छ।
- करिब १४ करोड ४ लाख रुपैयाँ लागतको यो परियोजना धार्मिक पर्यटन प्रवर्द्धन गर्दै नेपालगञ्जलाई भारतको अयोध्यासँग आध्यात्मिक रूपमा जोड्ने उद्देश्यले निर्माण भइरहेको हो।
- आगामी दुई महिनाभित्र निर्माण सम्पन्न गरी बडा दशैंको नवमीमा प्राण प्रतिष्ठा गर्ने तयारी भइरहेको निर्माण पक्ष र सरोकारवालाले बताएका छन्।

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरले नगरको मध्यभागमा धार्मिक सामरिक महत्व बोकेको १०८ फिटको दक्षिणमुखि हनुमानको मूर्ती निर्माण अन्तिम चरणमा पुराएको छ ।
नेपालगञ्ज उपमहानगरपालिकाले वडानं–२ मा १०८ फिट अग्लो दक्षिणमुखी हनुमानको मुर्ती निर्माण कार्यलाई नगर गौरवको योजनामा पारेर निर्माण अन्तिम चरणमा पुराएको छ । धार्मिक विश्वास अनुसार दक्षिण फर्केर हुनमानजीले सबै काम फत्ते गरेको मान्यता अनुसार दक्षिणमुखी हनुमानको मूर्ती निर्माण गरिएको हो ।
नेपालगञ्ज उपमहानगरपालिकालाई भगवान रामजन्म भूमी अयोध्यासँग धार्मिक रूपमा जोडेर धार्मिक पर्यटनलाई प्रवर्धन गर्न नेपालगञ्जमा १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माण भइरहेको जानिफकारहरु बताउछन् ।
देशकै पहिलो तथा अग्लो दाबी गरिएको सो १०८ फिट अग्लो हनुमानको मूर्तिको निर्माण कार्य तिव्र गतिमा भइरहेको र अन्तिम चरणमा पुगेको नेपालगञ्ज उपमहानगरपालिकाका सिभिल इन्जिनियर सुरज शर्माले बताए ।
उनले मूर्ति निर्माणको काम करिब ९० प्रतिशत पूरा भएको जनाउँदै आगामी दुई महिनामा सो कार्य पूरा हुने जानकारी दिए । उनले फाउन्डेसन र प्लेटफर्मको काम सकिएपछि अहिले धमाधम मूर्ति निर्माणको काम अन्तिम चरणमा पुगेको र अब फिनिसिङ्गको काम हुने बताए ।
नेपालगञ्जको पहिचान प्रसिद्ध शक्तिपीठ बागेश्वरीसँग जोडिएकोमा १०८ फिटको हनुमानको मूर्ति निर्माणपछि अब यसमा नयाँ आयाम थपिने हनुमानगढी मंदिर संचालक समिति उपाध्यक्ष तथा स्थानीय अगुवा जितेन्द्र कुमार सिंहले बताए ।
उनले दिवंगत गुरु हिरामान हरिशकर गिरी नागा बाबाको सोच र नेपालगञ्जलाई रामजन्मभूमी अयोध्यासँग जोड्नको लागि दक्षिणमुखी १०८ फिटको हनुमानको मूति निर्माण गर्न लागिएको बताए ।

हनुमानगढी मंदिर संचालक समिति उपाध्यक्ष सिंहले धार्मिक पर्यटन प्रवर्धनका लागि हनुमानको यो मूर्ति निकै फलदायी प्रमाणित हुने पनि बताए ।
उनले हनुमानको दर्शन गर्न आउने दर्शकलाई सजिलो बनाउने आफुहरुले कोशिस गरिरहेको बताउदै भगवान रामको ईच्छा भए यो बडा दशैको नवमीमा १०८ फिटको हनुमानको मुर्तीको प्राण प्रतिष्ठा गर्ने गरी तयारी गरिएको बताए ।
देशकै पहिलो १०८ फिट अग्लो हनुमानको मूर्ति निर्माणबाट नेपालगन्जको धार्मिक र सांस्कृतिक महत्त्व थप बलियो हुने र भारतको अयोध्यासँग सिधै सम्बन्ध जोडेर भगवान् रामको दर्शनका लागि अयोध्या पुग्ने पर्यटकलाई यहाँ ल्याउने प्रयास सुरु गरिने नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ ।
नेपालगञ्ज उपमहानगरका नगर प्रवक्ता प्रमोद रिजालले भारतको अयोध्यामा अत्याधुनिक राम मन्दिर बनेपछि राम र हनुमानको सम्बन्धलाई एकाकार गर्दै अयोध्यासँग नेपालगञ्जलाई ‘टाइअप’ गर्ने उद्देश्यका साथ हनुमानको मूर्ति निर्माण भइरहेको बताए । उनले यसले नेपालगञ्जको धार्मिक पर्यटन प्रवर्धनमा टेवा पुग्ने जनाउँदै अयोध्यासँगको आध्यात्मिक कनेक्सनमा यो मूर्ति कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।
नेपालगञ्ज वडानं. २ का वडा अध्यक्ष मनोजकुमार श्रेष्ठले वडामा १०८ फिट अग्लो दक्षिण मुखि हनुमानको मूर्ती निर्माणहुनु वडाको सौभग्यको कुरा भएको बताउदै यसले वडाको आर्थिक सामाजिक र धर्मिकलगायतको चौतर्फि विकासमा प्रभाव पार्ने बताए ।
१४ करोड चार लाख ६३ हजार रुपियाँमा निर्माण भइरहेको सो मुर्ती निर्माण गरिरहनु भएका मूर्तिकार तिलवीर सुनार सेन्चुरीले मुर्ती निर्माणको ९० प्रतिशत भन्दा काम सम्पन्न भइसकेको जनाउँदै अबको केही दिनमा मुर्ती हस्तान्तरण गर्ने तयारी रहेको बताए ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर दुई हनुमानगढीमा सो मूर्ति निर्माणका लागि पहिलोपटक २०७९ चैत ३ गते जम्बुदीप कन्स्ट्रक्सनसँग सम्झौता भएको थियो । सुरुवातको अवधि २०८१ चैत २ गतेसम्म रहेकोमा अहिले समयावधि थपेर २०८३ असोज ३० गतेसम्म लम्ब्याइएको नेपालगञ्ज उपमहानगरपालिकाले जनाएको छ । तर, मूर्ति निर्माणको कार्य सो अघिनै सम्पन्न गरिने उपमहानगरका सिभिल इन्जिनियर शर्माले बताउछन ।

