नेपालगञ्ज : राष्ट्रिय निजी तथा आवाशिय विद्यालय एशोशिएसन नेपालका राष्ट्रिय अध्यक्ष पाण्डव हमालले सरकारको निजि विद्यालयप्रतिको व्यवहार नितान्त बिभेदकारी भएको आरोप लगाएका छन् । राष्ट्रिय निजी तथा आवाशिय विद्यालय एशोशिएसन नेपाल बाँके जिल्ला समितिको ९ औ जिल्ला अधिवेशनको शनिबार नेपालगञ्जमा उद्घाटन गर्दै सो आरोप लगाएका हुन ।
उनले सरकारले अघि सारेको शिक्षा बिधेयक यथास्थितिमा पारित गर्न खोजे आफुहरुलाई कुनैपनि हालतमा मान्य नहुने बताउदै तत्कालका लागि सरकारसंग १० बुँदे समझदारी कायम गरी आन्दोलन स्थगन मात्र गरिएको स्पष्ट पार्दै भने–‘ विद्ययेक यथास्थितिमा पारित गर्न खोजे पुरा देश नै ठप्प पारिने छ । अहिले १० बुँदे सहमातीको कारण आन्दोलन स्थगन मात्र गरिएको हो । आन्दोलन सकिएको छैन ।’
जिल्ला अध्यक्ष श्याम कुवरको अध्यक्षतामा सम्पन्न उद्घाटन शत्रमा पूर्व अध्यक्ष कर्णबहादुर शाहीले निजि विद्यालयले पनि घोकन्ते शिक्षा भन्दा जीवन उपयोगी शिक्षा दिन आवश्यक रहेको औल्याउदै भने–‘ हामीले पनि अब सुगा रटाईको शिक्षामा भन्दा जीवन उपयोगी शिक्षा प्रवाह गर्नका बढी प्रयास गर्न आवश्यक छ । विश्वले नै संस्कृतलाई विज्ञानको संज्ञा दिदै अंगिकार गरेको अवस्थामा हामीले विन संस्कृतलाई बहिस्कार गर्ने ?’
उनले गुणत्मक शिक्षाको लागि ठूलो धनराशी बहिरिएको बताउदै फेरी पनि सरकारले त्यस्तै खालको शिक्षा नीति ल्याउन खोजेको आरोप
लगाए । उनले भने–‘ राज्यले आफुहरु माथि दोहन गर्दै आएको छ । तर, पनि हामीले भने राष्ट्र निर्माणमा शिक्षाको क्षेत्रबाट योगदान दिदै आएका छौ ।’
सो अवसरमा केन्द्रीय उपाध्यक्ष सुबोधकुमार डाँगीले राज्यले आफ्नो सम्पत्तिमाथि आँखा लगाएको आरोप लगाए । राज्यले निजि बिद्यालयलाई हेर्ने दृष्टिकोण र गर्ने व्यवहार दुबै परिवर्तन गर्न आवश्यक रहेको औल्याए ।
एनप्याब्सन बाँकेका उपाध्यक्ष चिरन चन्दले सहजिकरण गरेको कार्यक्रममा प्याब्सन बाँकेका यामबहादुर रावत, नेपाल राष्ट्रिय शिक्षक संगठन बाँकेका रेखा धिताल, शिक्षक महासंघ बाँकेका पवन यादवलगायतले आ–आफ्नो धारणा राखेका थिए । उद्घाटन सत्रपछि बन्दशत्रले नयाँ कार्यकालको लागि नयाँ कार्य समिति चयन गर्ने छ ।