नेपालगञ्ज : बाँकेको खजुरामा सञ्चालनमा रहेको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले हरेक वर्ष पश्चिम नेपालका ३० हजार क्यान्सरका बिरामीको उपचार गरिरहेको छ ।
यति ठुलो सङ्ख्यामा क्यान्सरका बिरामीको उपचार गर्ने सो अस्पतालमा रहेका सबै चिकित्सक र कर्मचारी काज र करारका मात्र छन् । अस्पतालमा हालसम्म एक जना पनि स्थायी दरबन्दी छैन । काज र करारमा रहेका चिकित्सक र कर्मचारी पनि आवश्यकताको २५ प्रतिशत मात्रै रहेको अस्पतालले जनाएको छ ।
अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. नीरज भट्टराईले दैनिक दुई सयदेखि तीन सय बिरामी उपचारका लागि आउने सो अस्पतालमा एक जना पनि स्थायी दरबन्दी नभएको जनाउँदै काज र करारमा रहेको जनशक्ति पनि निकै अपुग रहेको बताए ।
उनले अस्पतालमा हाल चिकित्सक र कर्मचारी गरेर ११० जना रहेको जनाउँदै आफूले सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण गरेर चार सय जनशक्ति आवश्यक रहेको ठहर गरी सरकारसँग माग गरेको बताए ।
डा. भट्टराईका अनुसार हाल अस्पतालमा अधिकृतस्तरका चिकित्सक र कर्मचारी ४५ जना करारमा रहेकामा २७ जना थप माग गरिएको, ५८ जना सहायकस्तरका कर्मचारी करारमा रहेकाले ३४ जना थप माग गरिएको छ । साथै सबै चिकित्सक र कर्मचारीलाई स्थायी दरबन्दी कायम गरेर पठाउन मन्त्रालयमा माग गरिएको छ ।
बिरामीको सङ्ख्या दिनदिनै बढ्दै गएको र हाल १५ जना विशेषज्ञ चिकित्सक काज र करारमा रहेकामा थप छ जना माग गरिएको र पाँच जना मेडिकल अफिसर रहेकामा थप दुई जना माग गरिएको छ ।
पश्चिम नेपालका लुम्बिनी, कर्णाली र सुदूरपश्चिम गरेर तीन वटा प्रदेशको ४० जिल्लाका क्यान्सर रोगका बिरामीको उपचार गर्दै आएको एक मात्र सो अस्पतालले गत आर्थिक वर्षमा २९ हजार २५५ जना क्यान्सरका बिरामीको उपचार गरेको छ ।
अस्पतालका प्रमुख डा. भट्टराईका अनुसार सो अस्पतालले विभिन्न सेवासुविधामार्फत उपचार गर्न थालेपछि पश्चिम नेपालको तीन वटा प्रदेशका करिब ३० हजार बिरामीलाई उपचार सहज भएको छ ।
यसअघि तीन प्रदेशका बिरामीलाई क्यान्सर उपचारका लागि चितवन, काठमाण्डौ वा भारतका विभिन्न शहरमा जानुपर्ने बाध्यता रहेकामा अब सो बाध्यता समाप्त भएको अस्पतालले जनाएको छ ।
गत आवमा ७३१ जना बिरामीको शल्यक्रियासहितको उपचार पनि गरिएको अस्पतालले जनाएको छ । तीमध्ये केही शल्यक्रिया अति नै जटिल किसिमका र काठमाडौँमा समेत नभएको शल्यक्रिया सेवा पनि गरिएको जनाइएको छ ।
यसै गरी ब्लड क्यान्सर वार्ड नै सञ्चालन गरेर ब्लड क्यान्सरको पनि उपचार शुरु गरिएको छ । अस्पतालमा दुई वटा अत्याधुनिक अप्रेशन थिएटर, भिडियो एक्सरे र सिटी स्क्यान पनि सुचारु रहेको छ ।
अस्पतालमा किमो सेवा, ब्राकी थेरापी, दूरबिन प्रविधिबाट पाठेघर र डिम्बासयमा क्यान्सर भएका बिरामीको शल्यक्रिया, हिस्टोप्याथोलोजी सेवा सुचारु छन् ।