कोहलपुर (बाँके) : बाँकेको कोहलपुरमा रहेको तक्षशिला एकेडमीले बिद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई दैनिक जीवनमा प्रयोग हुने तरकारीजन्य बस्तुहरुका बारेमा ब्यबहारिकरुपमा ज्ञान प्रदान दिने दृष्टिले १ दिने भेजिटेवल क्याम्प सम्पन्न गरेको छ ।
बिभिन्न प्रकारका तरकारीहरु राखिएको प्रदर्शनीमा मौसमी तथा बेमौसमी तरकारीकाबारे जानकारी दिईनुका साथै तरकारीका प्रजातीहरुका अंग्रेजी तथा बैज्ञानिक नाम समेत प्रत्यक्ष रुपमा बालबालिकाहरुलाई सिकाईएको बिद्यालयका प्रिन्सिपल मुकुन्द्र बिक्रम शाहले बताए ।
कक्षा नर्सरीदेखि कक्षा दशसम्मका छात्रछात्राहरुलाई पालैपालो अनुशासित तरीकाले तरकारीका गुण, बिशेषता, एक दलिय वा दुई दलिय कोशेबालिकाबारे पनि सिकाई आदान प्रदान गरिएको उक्त क्याम्पमा तरकारीबाट प्राप्त हुने भिटामिन, क्यामिकल एबं क्यालोरीका बारेमा पनि प्रष्ट पारिएको थियो ।
बालबालिकाहरुले तरकारीका बारेमा उत्सुकतापुर्वक चासो र उत्सुकता प्रकट गरेका थिए भने प्रर्दशनमा राखिएका तरकारीहरुका बारेमा आफुलाई लागेका प्रश्न समेत राखेको बिद्यालयका एकेडेमिक संयोजक पुर्षोत्तम शर्माले जानकारी दिए ।
गर्मिको मौसम खरभुजा कहाँ र कस्तो हावापानीमा फल्छ भन्ने प्रश्नमा अलमलमा परेका बिद्याथीहरु शिक्षकले बलौटे माटो तथा नदि खोलाका बगरहरुमा फल्ने जवाफ दिंदा आश्चर्यमा परेका थिए । त्यसैगरि फर्सिका बियाँलाई सुकाएर भुटेर पिसेर अचार खान सकिने, कटहर २ प्रकारका हुने भुई कटहर र रुख कटहरका बिशेषता बारे समेत बताईएको उक्त भेजिटेवल क्याम्पमा भुई कटहरलाई फलफुलको रुपमा मात्र खान सकिने र रुख कटहरलाई तरकारी एबं पाकेमा फलफुलका रुपमा समेत खाईने गरेको र अत्यन्त प्रोटिन हुने भएकाले खाने मात्रामा समेत सचेत गराईएको थियो ।
यसै गरि तिते करेलाका गुणकाबारे समेत बिद्यार्थीमाझ बताउदै शिक्षकहरुले साँझको समयमा र प्रेसर लो हुने ब्यक्तिले तिते करेलाको सेवन गर्न नहुने जस्ता शिक्षा दिएका थिए । भेजिटेवल क्याम्पमा तरकारीका अलावा मानिसले दैनिक जीवनमा भान्सामा प्रयोग गर्ने मसलाजन्य बस्तुहरुको पनि प्रत्यक्ष देखाएर शिक्षा प्रदान गरिएको थियो ।