कुसुमेश्वरको ब्यवस्थापन समिति मनोनयनमा विवाद

सदरलाइन संवाददाता २५ चैत्र २०७९, शनिबार १३:०७
 

नेपालगञ्ज : कुसुमेश्वर माध्यामिक बिद्यालयको ब्यवस्थापन समिति सदस्य मनोनयनमा विवाद उत्पन्न भएको छ । बिद्यालय ब्यवस्थापन समिति सदस्य मनोनयनप्रति ‘जग्गादाता’ परिवारले आपत्ति जनाएपछि विवाद उत्पन्न भएको हो ।

बिद्यालय ब्यवस्थापन समितिमा बिहीबार दुई जना सदस्यलाई मनोनयन गरिएको थियो । विगतमा हरेक ब्यवस्थापन समितिमा दाताको तर्फबाट एक जनालाई मनोनित गरिन्थ्यो । तर, यसपटक आफ्नो परिवारलाई ‘उपेक्षा’ गरिएको जग्गादाता स्वर्गिय पिताम्बर खत्रीका छोरा देवीराम खत्रीले दुःखेसो पोखे ।

बिहीबार बसेको बिद्यालय ब्यवस्थापन समिति बैठकबाट प्रचलित शिक्षा ऐन तथा नियमावलीको दफा १२ को उपदफा (१) (ग) अनुसार ‘शिक्षाप्रेमी’ र ‘स्थानीय बुद्धिजिवी’ का तर्फबाट दुई जनालाई मनोनित गरिएको बिद्यालयले उल्लेख गरेको छ ।

शिक्षा ऐन तथा नियमावलीमा बिद्यालयको ‘संस्थापक’ वा ‘स्थानीय बुद्धिजिबी’ वा ‘शिक्षाप्रेमी’ वा ‘चन्दादाता’ मध्येबाट मनोनित गर्नुपर्ने प्रावधान रहेको छ । शिक्षा ऐन र नियमावलीमा भएको ब्यवस्था विपरित जग्गादातालाई अपमान हुने गरी परिवारका सदस्यलाई ब्यवस्थापन समितिमा मनोनित गर्न नचाहनु घोर आपत्तिजनक रहेको खत्रीले सुनाए ।

देवीरामका बुवा स्वर्गिय पिताम्बर खत्रीले उक्त बिद्यालयका लागि बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नम्बर १ मा आफ्नो १४ विघा २ कठ्ठा १४ धुर जमिन दान गरेका थिए । बिद्यालयले २०२० सालदेखी उक्त जग्गा उपभोग गर्न सुरु गरेपनि २०३३ सालमा कानुनी रुपले बिद्यालयको नाममा हस्तान्तरण भएको थियो । उक्त जग्गा नै बिद्यालयको एक मात्र आम्दानीको स्रोतको रुपमा रहेको छ ।

बिद्यालयले उक्त जग्गालाई वर्षेनी ठेक्का दिएर पनि लाखौं रुपैयाँ आम्दानी गरिरहेको छ । जग्गाको आम्दानीबाट बिद्यालयले निजी स्रोतका शिक्षकको तलब, बिद्यालयको प्रशासनिक खर्च लगायतमा ब्यवस्थापन गरिरहेको छ । स्वर्गिय दाता खत्रीले जग्गादान गरेपछि उक्त बिद्यालयको हरेक ब्यवस्थापन समितिमा दाताको तर्फबाट परिवारका सदस्यलाई मनोनित गरिदै आएको थियो ।

बिद्यालय परिसरमै जग्गादाता स्वर्गिय खत्रीको शालिक समेत राखिएको छ । ‘जग्गादाताको परिवार हुँदा हुदै किन हामीलाई बाईपास गरियो,?’ देवीरामले भने ‘यसबाट हाम्रो परिवारको धेरै चित्त दुखेको छ, दातालाई अपमान गर्ने काम भयो ।’ बिद्यालय ब्यवस्थापन समितिमा सदस्य मनोनित गर्दा दुई जना महिला सदस्यले जग्गादातालाई प्राथमिकता राख्नुपर्छ भन्दाभन्दै जवरजस्ती निर्णय गरिएको उनको गुनासो छ ।


‘महिला सदस्यले असहमती भनि निर्णय पुस्तिकामा लेख्छौं भन्दाभन्दै त्यसो लेख्न पाइदैन भन्ने सम्मको शब्द बोली जवरजस्ती निर्णय गरिएको छ,’ राप्ती सोनारी गाउँपालिका अध्यक्षलाई सम्बोधन गरेर लेखिएको निवेदनमा खत्रीले उल्लेख गरेका छन् ।

दाता परिवारलाई बेवास्ता गरि राजनीतिक, सामाजिक, आर्थिक कुनै लगानी नभएका ब्यक्तिलाई पार्टीको सदस्यको नामले मनोनित गरी ल्याइएको अवस्थामा दाता परिवार सन्तोष नभएको खत्रीले बताएका छन् । बिद्यालय ब्यवस्थापन समितिमा दाता परिवारलाई सदस्य बनाउनुपर्ने माग गर्दै चैत २३ गते गरेको निर्णयलाई बदर गरी पुनः नयाँ प्रक्रियाबाट मनोनित गरी ब्यवस्थापन समितिलाई पूर्णता दिन अनुरोध गरेका छन् ।

यस विषयमा बिद्यालयका प्रधानाध्यापक रुपेन्द्र बस्नेतले ब्यवस्थापन समितिको बैठकले निर्णय गरेर ‘स्थानीय बुद्धिजिवी’ र ‘शिक्षाप्रेमी’ को तर्फबाट सदस्य मनोनित गरेको बताए । ‘जग्गादाताको परिवारले उठाएको कुरा पनि ठिक हो, जग्गादाताको तर्फबाट परिवारका सदस्यलाई विगतमा ब्यवस्थापन समितिमा मनोनित गरिदै आएको हो,’ प्रअ बस्नेतले भने ‘यसपटक ब्यवस्थापन समिति सदस्य मनोनित गर्दा क्रमभंग भयो ।’

शिक्षा ऐन र नियमावलीमा ‘बिद्यालयको संस्थापक’ वा ‘स्थानीय बुद्धिजिवी’ वा ‘शिक्षाप्रेमी’ वा ‘चन्दादाता’ मध्येबाट मनोनित गर्ने भन्ने उल्लेख भएकाले ब्यवस्थापन समितिले यसपटक मनोनित गर्दा ‘क्रमभंग’ गरेको बताए । प्रअ बस्नेतका अनुसार ब्यवस्थापन समितिको सदस्यमा केही समयअघि निर्वाचन प्रक्रियामार्फत तेजेन्द्रबहादुर खत्री, कर्णबहादुर बुढामगर, टिका बुढाथोकी र हुमाकुमारी खत्री निर्वाचित भएका थिए ।

कुल ९ सदस्यीय ब्यवस्थापन समितिमा वडा नम्बर १ का वडाअध्यक्ष यमबहादुर खड्का (पदेन), लेखराज ओली (शिक्षक प्रतिनिधी, रुपेन्द्र बस्नेत(सदस्य सचिव) छन् । ब्यवस्थापन समितिलाई पूर्णता दिन समितिले हालै स्थानीय बुद्धिजिवी र शिक्षप्रेमीका तर्फबाट रुद्रबहादुर ओली र सन्ध्या ओलीलाई मनोनित गरेको हो ।

बिद्यालय स्रोतका अनुसार सन्ध्या केही समयअघि भएको ब्यवस्थापन समितिको निर्वाचनबाट सदस्य (महिला) मा पराजित भएकी थिइन् । कुल ९ सदस्यीय समिति मध्येबाट एक जनालाई ब्यवस्थापन समितिको अध्यक्षमा चयन गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरको झन्डहवामा निःशुल्क पशु स्वास्थ्य शिविर

२५ चैत्र २०७९, शनिबार १३:०७
कोहलपुर (बाँके) : कोहलपुर नगरपालिका–९ झन्डहवामा शनिवार निःशुल्क पशु स्वास्थ्य तथा परिजिवी नियन्त्रण घुम्ती शिविरको आयोजन गरिएको छ । कोहलपुर नगरपालिका नगर पशु स्वास्थ्य शाखाको आयोजनामा सुरु भएको शिविरमा पशुहरुको उपचार, परिजिवी नियन्त्रण, बन्ध्याकरण, रोग नियन्त्रण खोप सहितको सेवा प्रबाह गरिने पशु स्वास्थ्य शाखा प्रमुख गोबिन्द रोकाले जानकारी दिए । […]