खजुरा (बाँके) : खजुरा गाउँपालिका वडा नं. ३ धौलागिरीमा हिमालय सामुदायिक क्लवद्वारा आयोजित डम्बर रानाभाट स्मृती कप फुटबल प्रतियोगिता २०७९ को उपाधी न्यू दर्पण युवा क्लव इ गाउँले हात पारेको छ । शनिबार सम्पन्न फाइनल खेलमा दर्पण युवा क्लवले न्यू डाँफे युवा क्लव डि लाई ३–१ गोल अन्तरले पराजित गर्दै उपाधी जितेको हो ।
न्यू दर्पणका तर्फबाट खेलको ३५ र ३६ मिनेटमा विमल बस्नेत र ७० मिनेटमा ईश्वर श्रेष्ठले गोल गरेका थिए भने न्यू डाँफेका तर्फबाट ७४ मिनेटमा खेमबहादुर थापाले १ गोल फर्काए । प्रतियोगितामा विजेता टीमले ५१ हजार १५१ र उपविजेताले २५ हजार १५१ पुरस्कर तथा ट्रफी प्राप्त गरेका छन् ।
क्लवका अध्यक्ष किरण थापा, खजुरा गाउँपालिका अध्यक्ष डम्बर विक तुफान, उपाध्यक्ष मन्जु मल्ल, वडा नं. ३ का अध्यक्ष पूर्णबहादुर भन्डारी, ४ का अध्यक्ष टेकबहादुर रोकाय, वडा नं. ३ का सदस्य देउमाया थापा, डम्बर रानाभाटका माता पिता उजेली रानाभाट, बमबहादुर रानाभाट, खजुरा गाउँपालिका खेलकुद विकास समितिका अध्यक्ष छवि बिष्ट, सदस्य सलिल खड्का, नेरा प्राविका प्र अ रुद्र रानाभाट लागायतले पुरस्कार ट्रफी तथा प्रमाणपत्र वितरण गरेका थिए ।
प्रतियोगितामा १६ वटा टीमले सहभागिता जनाएको क्लवका सल्लाहकार देव कुँवरले जानकारी दिँदै खेल व्यवस्थापनमा सहयोगमा पुर्याउने दाताहरूलाई सम्मान गरिएको बताए । खजुरा गाउँपालिकाले खेलकुदको क्षेत्र प्राथमिकतामा राखिएको जनाएको छ । यसअघि क्लवले भलिबल प्रतियोगिता र थुप्रै पटक अन्य प्रतियोगिता गर्नुका साथै सामाजिक र श्रजनात्मक काम गर्दै आएको सल्लाहकार कुवँवरले बताए ।
क्लवका अध्यक्ष किरण थापाको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको संचालन सचिव जीवन कार्कीले गरेका थिए । खजुरा गाउँपालिकालाई खेलकुदको हब बनाउने पालिकाको लक्ष्यमा क्लवले साथ दिने प्रतिबद्धता जनाएको छ । क्लवले फुटबल प्रशिक्षक सानू तामाङको प्राविधिक टीमलाई खेल सम्पन्न गर्न पुर्याएको योगदानको कदर गर्दै सम्मान सहित आभार प्रकट गरेको छ ।