एजेन्सी : बघिनीले रूखलाई अँगाल्दै्र बघिनीले रूखलाई अँगाल्दै गरेको तस्बिरले विश्वको सबैभन्दा प्रतिष्ठित फोटोग्राफी पुरस्कार पाएको छ ।
साइबेरियाको जंगलमा मन्चुरियन फर नामक पुरानो रूखलाई बघिनीले अँगाल्दै गरेको तस्बिर खिच्ने फोटोग्राफरले पुरस्कार पाएका हुन्। यो तस्बिर खिच्ने रूसी फोटोग्राफर सर्जे ग्रोशकोभ हुन् ।
उक्त तस्बिरको लागि उनले ‘वाइल्डलाइफ फोटोग्राफर अफ द यर २०२०’ पाएका छन् । लन्डनको नेचुरल हिस्ट्री म्युजियममा भएको एक समारोहमा डचेज अफ क्यामब्रिजले उक्त पुरस्कार दिएको हो।


सर्जेले बघिनीले रूखलाई अँगाल्दै गरेको तस्बिर सजिलै भने लिएका थिएनन् । उनलाई उक्त तस्बिर कैद गर्न ११ महिना लागेको द गार्जियनले जनाएको छ । यसको मतलब उनी ११ महिनासम्म त्यही ठाउँमा बसिरहेका भने होइनन् । उनले सो ठाउँमा आफ्नो क्यामेरा सेटअप गरी छाडेका थिए । स्वचालित ट्रयापिङ्ग क्यामेराबाट सो तस्बीर खिचिएको थियो ।
बाघ तथा अन्य जनावरहरू आएपछि आफैैं खिच्ने गरी सेटिङ मिलाएका थिए । जसबाट उनले एक उत्कृष्ट तस्बिर पाउन सफल भए ।
यो तस्बिर ४९ हजार मध्येबाट छानिएको थियो । तस्बिरमा भएको बघिनी पूर्वी रूसको घना जंगलमा बस्ने अमुर जातको हो । यस्ता खालका बाघ केही संख्या चिनियाँ बोर्डर र उत्तर कोरियाली क्षेत्रमा पनि पाइन्छ ।