सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा शुक्रवारदेखि शुरु भएको गाउँपालिकास्तरीय प्रथम अध्यक्ष कप रनिङ्ग शिल्ड खेलकुद प्रतियोगितामा जयकिसान मावि प्रथम भएको छ । छात्रतर्फको १५ सय मिटर दौडमा बाहेक सबै इभेन्टमा जयकिसान मावि प्रथम भएको हो । प्रतियोगितामा महेन्द्र मावि मटेहिया दोस्रो र आदर्श मावि लक्ष्मणपुर तृतीय भएका छन् । अनुशासनतर्फ भने आदर्श मावि उत्कृष्ट भएको छ ।
गाउँपालिका अध्यक्ष इस्तियाक अहमद शाहले प्रथम, द्वितीय तथा तृतीय स्थान हासिल गर्ने विद्यालय र विद्यार्थीहरुलाई शिल्ड प्रदान गरे । प्रथम र द्वितीय भएका खेलाडीहरुले जिल्लास्तरीय राष्ट्रपति रनिङ्ग शिल्डमा सहभागिता जनाउने जयकिसान माविका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बृजेन्द्रकुमार यादवले जानकारी दिए ।
वडा नम्बर ६ भोजपुरस्थित जयकिसान माविको प्रांगणमा भएको प्रतियोगितामा गाउँपालिकाभित्र रहेका तीन वटा माविका कक्षा ९ देखि १२ कक्षासम्मका विद्यार्थीहरुले भाग लिएका थिए । तीन विद्यालयका ८९ जना विद्यार्थी सहभागी प्रतियोगितामा १०० मिटर दौड छात्रछात्रा, २०० मिटर दौड छात्रछात्रा, लङ्गजम्प, हाईजम्प, कबड्डी, भलिबल लगायत १५ इभेन्ट सञ्चालन गरिएको थियो ।