सदरलाइनडटकम,
डोटी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले सरकारी कर्मचारीले आफ्ना छोरा छोरीलाई सरकारी स्कुलमा भर्ना नगरे कारबाही गर्ने बताएका छन् । डोटीको दिपायल सिलगढी नगरपालिका ४ मा निर्माण हुन लागेको निजामी कर्मचारी बिद्यालयको शिलान्यास गर्दै मुख्यमन्त्री भट्टले कारबाहीको चेतावनी दिएका हुन् ।
सरकारी जागिर खाएर कर्मचारीले छोरा छोरीलाई निजी बोर्डिङमा पढाउने गरेको भन्दै मुख्यमन्त्री भट्टले सरकारको पैसा खाएर छोरी छोरी निजी बोर्डिङमा पढाउनेलाई अब कारबाही हुने चेतावनी दए । प्रदेशभित्रका निजी विद्यालयमा छोरा छोरी पढाउने सरकारी कर्मचारीको तथ्यांक संकलन गर्ने काम शुरु गर्न लागेको भन्दै उनले त्यसबाट आउने तथ्यांक अनुसार कारबाही अघि बढाइने बताए ।
२ करोड ३९ लाख लागत ६ कोठे दुई तले निजामती स्कुलको भवन २०७८ पुस मसान्तभित्र सम्पन्न गर्ने गरी निर्माण गर्न लागिएको छ । निजामती कर्मचारी स्कुलका लागि १०० रोजनी जमिन खरिद गरेर भवन बनाउन थालिएको हो ।
आगामी वर्षमा नयाँ स्कुल भवन, आवास गृह, खेलकुद मैदान, स्वीमङ पुल लगाएका संरचनाहरु निर्माण गर्न झण्डै ७५÷८० करोड रकम खर्च गर्ने योजना रहेको मुख्यमन्त्रीका स्वकीय सचिब शिवसिंह ओलीले जानकारी दिए ।