सदरलाइनडटकम,
काठमाण्डौ : ८ औं राष्ट्रिय खेलकुद प्रतियोगितामा आगामी वैशाख ५ गतेदेखि ११ गतेसम्म सञ्चालन हुने भएको छ । राष्ट्रिय खेलकुद परिषदको शुक्रवार बसेको बोर्ड बैठकले ८ औँ राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति तय गरेको हो ।
युवा तथा खेलकुद मन्त्री एवम् परिषदका अध्यक्ष जगत विश्वकर्माको अध्यक्षमा काठमाण्डौमा बसेको परिषद बैठकले नेपालगंञ्मा आयोजना हुने त्यस खेलकुद प्रतियोगिताको आवश्यक व्यवस्था मिलाउन विभिन्न उपसमितिहरु पनि बनाएको छ । मौसम, पूर्वाधार, खेलाडीहरुको परीक्षालाई समेत ध्यानमा राखेर प्रतियोगिताको मिति तय गरिएको परिषदका सदस्य सचिव केशवकुमार विष्टले जानकारी दिए । परिषद बैठकले प्रतियोगिता सम्पन्न भएको एक हप्तापछिबाटै दक्षिण एशीयाली खेलकुद प्रतियोगिताको तयारीका लागि आवश्यक व्यवस्थापनको कामलाई तीव्रता दिने निर्णय गरेको छ ।
बैठकमा बोल्दै परिषदका अध्यक्षसमेत रहनु भएका युवा तथा खेलकुद मन्त्री विश्वकर्माले खेलकुद प्रतियोगिताको तयारीको कामलाई पारदर्शी ढंगले अघि बढाउन मातहतका निकायलाई निर्देशन दिए । उनले सरकारले प्रतियोगिताका लागि उपलब्ध गराएको बजेट हिनामिना हुन नदिने प्रतिबद्धता जनाए । राष्ट्रिय खेलकुद परिषदले यसअघि गएको मंसिर २१ गते त्यस प्रतियोगिता आयोजना गर्ने निर्णय गरे पनि कार्यान्वयन गर्न सकेको थिएन । सदस्य सचिव विष्टले अव त्यस प्रतियोगिता नसर्ने गरी मिति तय गरिएको दाबी गरे । परिषदले प्रतियोगिताको व्यवस्थापनको कामलाई चुस्त बनाउन पुनः बैठक बस्ने तयारी गरेको छ ।