बाँकेको नरैनापुरमा ‘ल्याप्चेमुक्त’ अभियान सुरु

  
  प्रकाशित मितिः बिहिबार, पुस १९, २०७५       | 39 Views   ||

सदरलाइन / रुद्र सुवेदी, 
नेपालगञ्ज  : नागरिकको नैसर्गिक अधिकार मध्येको शिक्षाको लागि स्थानीय सरकारको प्रत्याभूती दिदै बाँकेको नरैनापुर गाउँपालिकाले गाउँपालिकालाई ‘ल्याप्चे मुक्त’ बनाउनको लागि साक्षरता अभियान सञ्चालन गरेको छ ।
गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले शिक्षाको क्षेत्रमा अत्यन्तै पिछडिएको गाउँपालिकाको रुपमा रहेको नरैनापुरमा करिव १२ हजार नागरिक अझै निरक्षर रहेकोले गाउपालिकालाई ‘ल्याप्चे मुक्त’ बनाउन अभियान नै सञ्चालन गर्न परेको जानकारी दिए ।
उनले भने–‘गाउपालिकामा अझै पनि १२ हजार बढी निरक्षर छन् । उनीहरुलाई साक्षर बनाउनको लागि अहिले साक्षरता अभियान सञ्चालन गरेका हौ । निरक्षर र ल्याप्चेका कारण सामाजिक सुरक्षा भत्तादेखि सबै कुरा अनलाईन मार्फत गर्नुपर्ने हुँदा साक्षरता अभियान सञ्चालन गरेका हौ ।’
उनले साक्षरता अभियानको पहिलो चरणमा ३ हजारलाई साक्षर बनाउने र उनीहरु मार्फत बाँकी ९ हजारलाई साक्षर बनाउन परिचालन गर्ने गरी अभियान सञ्चालन गरेको जानकारी दिए । पहिलो चरणको अभियानमा ३ हजारलाई साक्षर बनाउन सय जना सहजकर्तालाई कार्यक्षेत्रमा खटाईएको छ ।ं
उनले भने–‘म आफै बैंकमा बसेर सामाजिक सुरक्षा भत्ता वितरणको बेलामा हस्ताक्षर गर्न सिकाउन पर्ने अवस्था आएपछि साक्षरता अभियान सञ्चालन गरी सबैलाई साक्षर बनाउन थालिएको हो ।’ उनले पहिलो चरणको साक्षरता अभियान ३ महिनाको हुने र त्यसको लागि आवश्यक पर्ने शैक्षिक सामग्री सहजकर्ताहरुलाई हस्तान्तरण गरिएको बताए ।
‘चैत महिनाभित्र ३ हजार निरक्षरलाई साक्षर बनाउने लक्ष्य अनुसार गाउँपालिकाका ६ वटै वडामा खटिने एक सय जना सहजकर्तालाई १४ लाख मूल्य बराबरका शैक्षिक सामग्री हस्तान्तरण गरिएको छ’–उनले भने–‘सहजकर्ता र कक्षा लिनेहरुलाई आवश्यक पर्ने किताब, कापी, कलम, बोर्ड, मार्कर लगायतका सामग्री हस्तान्तरण गरिएको हो ।’
अध्यक्ष शाहले अशिक्षाको कारण गाउँपालिका विकासमा पछि परेको बताउदै विकासको बाधकको रुपमा रहेको अशिक्षालाई मुक्त बनाउन साक्षरता अभियान थालेकोले सबै गाउपालिकाबासीलाई उत्साहका साथ कक्षामा सहभागी हुन आग्रह पनि गरेका छन् ।
उनले गाउँपालिकाको हरेक वडामा सञ्चालन हुने प्रत्यक साक्षरता कक्षाकोे अनुगमन गर्दा परिणाम देखिने गरी काम गर्न सहजकर्ताहरुलाई निर्देशन दिदै भने–‘तपाईहरु तीन महिनाका लागि प्रत्यक वडामा सञ्चालन भएको साक्षरता कक्षामा खटिनु भएको छ । गाउँपालिकाले नियमित कक्षा अनुगमन गर्नेछ त्यो समयमा तपाईले गरेको कामको नतिजा स्पष्ट देखिने गरी काम गर्नुहोला ।’
नरैनापुर गाउँपालिकाका करिव १२ हजार निरक्षर नागरिकलाई साक्षर बनाउने अभियान सञ्चालन गरि रहेको संस्था ग्रामीण समाज उत्थान मञ्चका अध्यक्ष मुस्ताक अलि राईले प्रत्यक वाडाका टोल–टोलमा खटिने सहजकर्तालाई नतिजा सकारात्मक आउने गरी काम गर्ने दाबी गरे ।
यसैबीच शिक्षा विकास तथा समन्वय ईकाई बाँकेका प्रमुख गोर्खबहादुर थापाले बाँकेका आठवटै स्थानीय तहमा पूर्व साक्षरताका लागि पटक–पटक कक्षाहरु सञ्चालन गरिए पनि कुनै पनि स्थानीय तह प्रर्ण साक्षर पालिका घोषणा हुन नसकेको जानकारी दिए । उनले भने–‘सारताको लागि राष्ट्रिय साक्षर अभियानको लागि धेरै कक्षा सञ्चालन भए पनि अझै पनि ठाँउ–ठाँउमा निरक्षर रहेको जानकारी आएको र केही स्थानीय तहले आप्mनै तवरले साक्षरता अभियान सञ्चालन गरेका छन् ।’ उनले नरैनपुर गाउपालिकाले अपनत्व लिएर सुरु गरेको साक्षरता अभियानको सफलता पार्नको लागि आफ्नो कार्यालयबाट हुन सक्ने समन्वय र सहयोग गर्न तयार रहेको बताए ।

प्रकाशित मितिः बिहिबार, पुस १९, २०७५     9:06:40 AM  |