नरैनापुरमा पूर्णसाक्षर अभियान शुरु

७ पुष २०७५, शनिबार १९:०५
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर गाउँपालिकामा पूर्ण साक्षर तथा सरसफाई अभियान शुरु भएको छ । शनिवार एक कार्यक्रमका बीच गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले अभियानको सुभारम्भ गर्नुभएको हो । चैत्रसम्म चल्ने अभियानका लागि ६ वटै वडामा सहजकर्ता छनौट गरेर एकसाथ अभियान चलाउन लागिएको हो ।
शिक्षा र सरसफाईमा पछाडि परेको क्षेत्र भएकाले अभियानकै रुपमा कार्यक्रम अघि बढाइने अध्यक्ष शाहले बताए । उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष शाहले शिक्षानै विकासको मूल आधार भएकाले नरैनापुरको शैक्षिक विकासका लागि आफू दत्तचित्त भएर लागि परेको उल्लेख गरे । गाउँपालिकामा अब एक जना पनि औठा छाप नागरिक हुनुहुँदैन भन्ने दृढताका साथ आफूहरुले काम गरिरहेको बताए ।
प्रमुख प्रशासकीय अधिकृत दल बहादुर बस्नेतले गाउँपालिकामा अझैं १२ हजार नागरिक निरक्षर रहेकाले उनीहरुलाई साक्षर बनाउने र विद्यालय जाने उमेरका बालबालिकालाई विद्यालयसम्म पुर्याउने उद्देश्यले अभियान थालिएको जानकारी दिए ।
अभियान सञ्चालन गर्न थालेको संस्था ग्रामीण समाज उत्थान मञ्ज–रुसुफ नेपालका अध्यक्ष मुस्ताक अलि राईले नरैनापुरको शिक्षा र सरसफाईको अवस्था सुधार्न सञ्चालित यस अभियानलाई सफल बनाउन आफूहरु दृढ संकल्पित भएर लाग्ने बताए । सबैको सहयोग र सहकार्य भएमा नरैनापुरको मुहार बदल्न समय नलाग्ने उनको भनाई थियो । आफूहरुको अभियानलाई साथ दिन उहाँले सबैसंग आग्रहसमेत गरे ।
कार्यक्रममा वडा नम्बर ३ का अध्यक्ष राजकुमार मौर्य, वडा नम्बर १ का सचिव लक्ष्मीकान्त मिश्र, रुसुफ नेपालका अब्दुल गफार खान, नेरा प्राविका प्रधानाध्यापक नन्द किशोर शर्मा, मकबुल अहमद मुकेरीलगायतले अभियानलाई सफल बनाउन सबै लाग्नुपर्नेमा जोड दिएका थिए ।

Next Post

इण्डोनेशियामा सुनामी जाँदा ६२ जनाको मृत्यु

७ पुष २०७५, शनिबार १९:०५
सदरलाइनडटकम, काठमाण्डौ : इण्डोनेसियामा शनिवार राती गएको सुनामीमा ६२ जनाको मृत्यु भएको छ भने ५ सय ८४ जना घाइते भएका छन् । सुनामी इण्डोनेशियाको समुन्द्री किनार छेउमा रहेको सुन्दा स्ट्रेट(पानीको साँघुरो भाग) मा आएको त्यहाँका सरकारी अधिकारीहरुले बताएका छन् । इण्डोनेशियाको विपद् व्यवस्थापन एजेन्सीले बताएअनुसार सुनामीका कारण सयौं घर तहसनहस भएका […]