Sadarline
२०८३ असोज २२ , बिहीबार

भारतमा ‘गान्धीजी’को पत्रकारिताले स्वतन्त्रता, अहिंसा र राष्ट्र–निर्माणको चेतनालाई नयाँ आयाम थपेकोछ



हाजीपुर (भारत) : महात्मा गान्धीद्वारा सुरु गरिएको प्रसिद्ध साप्ताहिक पत्रिका ‘यङ इन्डिया’ को प्रकाशनको वार्षिकोत्सवको अवसरमा हाजीपुरस्थित ‘ट्यागोर किड्स एण्ड हाई स्कुल’मा एक विशेष कार्यक्रम आयोजना गरियो ।

महात्मा गान्धीको तस्बिरमा पुष्पार्पण गर्दै सुरुवात गरिएको कार्यक्रम वैशाली जिल्ला हिन्दी साहित्य सम्मेलनको तत्वावधान तथा सम्मेलनका अध्यक्ष डा. शशि भूषण कुमारको अध्यक्षताम सम्पन्न भएको हो ।

कार्यक्रमका प्रमुख अतिथि तथा भारत सरकारको गृह मन्त्रालयअन्तर्गतको ‘इन्टेलिजेन्स ब्युरो’ का पूर्व अधिकारी सुरेन्द्र प्रसाद सिंहले स्वतन्त्रता आन्दोलनका क्रममा महात्मा गान्धीद्वारा प्रकाशित ‘यङ इन्डिया’ जन–जागरणको एक महत्त्वपूर्ण माध्यम बनेको बताए । उनले यस पत्रिकाका माध्यमबाट गान्धीले स्वतन्त्रता, अहिंसा, सत्य र राष्ट्र–निर्माणसम्बन्धी आफ्ना विचारहरू देशवासीसमक्ष पु¥याएको स्मरण गरे ।

उनले बताएअनुसार ‘यङ इन्डिया’को प्रकाशन सन् १९१९ को अक्टोबर ८ मा सुरु भई सन् १९३१ सम्म जारी रह्यो । अङ्ग्रेजी भाषामा प्रकाशित यस पत्रिकाले स्वतन्त्रता आन्दोलनका क्रममा देशभर राजनीतिक, सामाजिक र बौद्धिक चेतना जगाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो ।

वरिष्ठ पत्रकार, वैशाली जिल्ला हिन्दी साहित्य सम्मेलनका अध्यक्ष, ‘ट्यागोर किड्स एण्ड हाई स्कुल’ का निर्देशक तथा ’मानवाधिकार टुडे’का सम्पादक डा. शशि भूषण कुमारले महात्मा गान्धी स्वतन्त्रता आन्दोलनका एक महान् व्यक्तित्व मात्र नभई प्रभावशाली पत्रकार, लेखक र चिन्तक पनि रहेको बताए ।

उनले गन्धीले ‘यङ इन्डिया’ मार्फत देशका जनतामा स्वतन्त्रता, अधिकार, आत्मसम्मान र राष्ट्र–निर्माणको भावनालाई सुदृढ पारेको दाबी गरे । डा. कुमारले गान्धीजीको पत्रकारिताको उद्देश्य केवल समाचार प्रकाशन गर्नु मात्र नभई समाजमा बौद्धिक जागरण, जनचेतना र अधिकारसम्बन्धी सचेतना अभिवृद्धि गर्नु रहेकोमा जोडदिए ।

उनले भने–‘ त्यस युगमा ‘यङ इन्डिया’ देशका जनताका लागि एउटा कोसेढुङ्गा सावित भयो । आज पनि गान्धीजीको पत्रकारिता र उनका विचारहरू विश्वभरका बौद्धिक तथा साहित्यिक समुदायका लागि प्रेरणाको स्रोत बनेका छन् ।’

विद्यालयकी प्रधानाध्यापिका सुश्री पिंकीले गान्धीको पत्रकारिता तथा उनले सञ्चालन गरेको विभिन्न जनचेतनामूलक पहलहरूबारे विस्तृत रूपमा प्रकाश पारिन । उनले गान्धीले पत्रकारितालाई सामाजिक चेतना अभिवृद्धि गर्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउने एक सशक्त माध्यमका रूपमा रूपान्तरण गरेको कुरा बताईन ।

यस कार्यक्रममा वैशाली जिल्ला हिन्दी साहित्य सम्मेलनका पदाधिकारी तथा सदस्यहरू, विद्यालयका शिक्षकहरू, विद्यार्थीहरू र अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति तथा सहभागिता रहेको थियो । वक्ताहरूले विद्यार्थीहरूलाई सत्य, अहिंसा, आत्मनिर्भरता, देशभक्ति र जनसेवा जस्ता गान्धीजीका आदर्शहरूलाई आफ्नो जीवनमा आत्मसात गर्न आग्रह गरे ।

 

प्रकाशित मिति : २०८३ असोज २२ गते बिहीबार
ताजा समाचार