समाचार सारांश
- बर्दियामा विद्यालय व्यवस्थापन समिति, अभिभावक–शिक्षक संघ, प्रधानाध्यापक तथा फोकल शिक्षकका लागि लैङ्गिक रूपान्तरण र समावेशी कक्षा व्यवस्थापनसम्बन्धी तालिम सम्पन्न भएको छ।
- बाँके युनेस्को क्लबको आयोजना तथा प्लान इन्टरनेशनल नेपालको सहकार्यमा भएको तालिममा लैङ्गिक समानता, बाल संरक्षण, समावेशी कक्षा र गुनासो सुनुवाइ संयन्त्रबारे प्रशिक्षण दिइएको थियो।
- सहभागी विद्यालयहरूले लैङ्गिकमैत्री, सुरक्षित र विभेदरहित वातावरण निर्माणका लागि कार्ययोजना तयार गर्दै त्यसको कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएका छन्।

बर्दिया : प्लान इन्टरनेशनल नेपालको सहकार्यमा बाँके युनेस्को क्लबको आयोजनामा विद्यालयमा सुरक्षित, समावेशी, बालमैत्री तथा लैङ्गिकमैत्री सिकाइ वातावरण प्रवद्र्धन गर्ने उद्देश्यले विद्यालय व्यवस्थापन समिति, अभिभावक–शिक्षक संघ, प्रधानाध्यापक तथा फोकल शिक्षकहरूका लागि लैङ्गिक रूपान्तरण तथा समावेशी कक्षा व्यवस्थापनसम्बन्धी तालिम सफलतापूर्वक सम्पन्न गरिएको छ ।
तालिमको मुख्य उद्देश्य विद्यालयका सरोकारवालाहरूको लैङ्गिक समानता, समावेशिता तथा बाल संरक्षणसम्बन्धी ज्ञान, सीप र समझदारी अभिवृद्धि गर्नुका साथै विद्यालयभित्र हुने लैङ्गिक विभेद तथा असमानतालाई न्यूनीकरण गर्दै सबै बालबालिकाका लागि समान, सुरक्षित र सम्मानजनक सिकाइ वातावरण निर्माण गर्नु रहेको थियो ।
तालिममा सहभागी विद्यालय व्यवस्थापन समिति, अभिभावक–शिक्षक संघ, प्रधानाध्यापक तथा फोकल शिक्षकहरूले विद्यालय तथा कक्षाकोठामा विद्यमान लैङ्गिक मान्यता, सोच, व्यवहार र अभ्यासहरूले बालबालिकाको सहभागिता, सिकाइ तथा अवसरमा पार्न सक्ने प्रभावका बारेमा छलफल गरेका थिए ।
तालिमका क्रममा सेक्स र लैङ्गिकता, लैङ्गिक मान्यता तथा रूढीवादी सोच, लैङ्गिक विभेद, लैङ्गिक समानता, समावेशी कक्षा व्यवस्थापन तथा गुनासो सुनुवाइ संयन्त्र लगायतका विषयमा विस्तृत छलफल तथा अन्तरक्रिया गरिएको थियो ।
विशेषगरी विद्यालयमा छात्र र छात्रा तथा विभिन्न पृष्ठभूमिका बालबालिकालाई समान अवसर प्रदान गर्ने, विभेदरहित व्यवहार सुनिश्चित गर्ने र प्रत्येक बालबालिकाले सुरक्षित तथा सम्मानजनक वातावरणमा सिक्ने अवसर पाउनुपर्ने विषयमा जोड दिइएको थियो ।
तालिमलाई सहभागीमुखी र व्यवहारिक बनाउन समूहकार्य, भूमिकाअभिनय, छलफल तथा विभिन्न व्यावहारिक अभ्यासहरू सञ्चालन गरिएको थियो । सहभागीहरूले विद्यालय तथा समुदायमा देखिने लैङ्गिक विभेद र असमानतासँग सम्बन्धित विभिन्न वास्तविक तथा काल्पनिक परिस्थितिहरूको विश्लेषण गर्दै समस्या समाधानका सम्भावित उपायहरूमाथि छलफल गरेका थिए ।
तालिमको सहजीकरण मधुवन नगरपालिका, बर्दियाका शिक्षा इकाइ प्रमुख नारायणप्रसाद खनाल तथा बाँके युनेस्को क्लबका परियोजना संयोजक इश्वर बीकेले गरेका थिए । तालिम सञ्चालन तथा व्यवस्थापनमा बाँके युनेस्को क्लबकी फिल्ड सुपरभाइजर प्रमिशा थारूले सहयोग गरेकी थिईन ।
यसैबीच तालिमको महत्वपूर्ण उपलब्धिका रूपमा सहभागी विद्यालयहरूले आफ्नो विद्यालयको आवश्यकता र अवस्थालाई आधार बनाएर लैङ्गिकमैत्री तथा समावेशी विद्यालय वातावरण निर्माणका लागि कार्ययोजना समेत तयार गरेका छन् । तयार गरिएको कार्ययोजनामा विद्यालयमा छात्र र छात्राको समान तथा अर्थपूर्ण सहभागिता सुनिश्चित गर्ने, लैङ्गिक विभेद र हिंसाविरुद्ध सचेतना अभिवृद्धि गर्ने, समावेशी तथा बालमैत्री शिक्षण सिकाइ वातावरण निर्माण गर्ने, गुनासो तथा उजुरी सुनुवाइ संयन्त्रलाई प्रभावकारी बनाउने र विद्यालयका सबै सरोकारवालाको भूमिका तथा जिम्मेवारी स्पष्ट गर्ने विषयहरू समेटिएका छन् ।
तालिमको समापनमा सहभागी विद्यालयका प्रतिनिधिहरूले तालिमबाट प्राप्त ज्ञान र सीपलाई व्यवहारमा उतार्दै विद्यालयलाई थप लैङ्गिकमैत्री, समावेशी, सुरक्षित, सम्मानजनक तथा विभेदरहित सिकाइ केन्द्र का रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । साथै, विद्यालयमा बालबालिकाको आवाज र सहभागितालाई प्राथमिकता दिँदै कुनै पनि प्रकारको लैङ्गिक विभेद, हिंसा वा दुव्र्यवहार हुन नदिने तथा आवश्यक परेमा प्रभावकारी गुनासो सुनुवाइ र सम्बोधनको व्यवस्था सुनिश्चित गर्ने प्रतिबद्धता समेत जनाइएको थियो ।
कार्यक्रमले विद्यालयमा लैङ्गिक समानता र समावेशितालाई व्यवहारमा उतार्न विद्यालय व्यवस्थापन समिति, अभिभावक, शिक्षक तथा अन्य सरोकारवालाबीच साझा समझदारी र सहकार्य आवश्यक रहेको निष्कर्ष निकालेको छ । सहभागीहरूले आगामी दिनमा तयार गरिएको कार्ययोजनाको प्रभावकारी कार्यान्वयन गर्दै सबै बालबालिकाका लागि समान अवसर र सुरक्षित सिकाइ वातावरण सुनिश्चित गर्न निरन्तर पहल गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।



