युवालाई हरित रोजगारी र उद्यमशीलतासँग जोड्दै यति परियोजना

सदरलाइन संवाददाता २० भाद्र २०८३, शनिबार १८:५४
 
समाचार सारांश
Generated Using AI
  • बर्दियाका मधुवन र ठाकुरबाबा नगरपालिकामा युवालाई जलवायु अनुकूल व्यवसाय, हरित रोजगारी र उद्यमशीलतासँग जोड्ने दोस्रो चरणको यति परियोजना सुरु भएको छ।
  • परियोजनाले युवाको सीप तथा क्षमता विकास, रोजगारी–स्वरोजगारी सिर्जना र जलवायु परिवर्तन न्यूनीकरणमा युवा सहभागिता बढाउने लक्ष्य लिएको छ।
  • पहिलो चरणमा स्थापित उद्यमलाई दिगो बनाउँदै थप युवालाई उद्यमशीलतामा जोड्न स्थानीय तह र सरोकारवालाबीच समन्वय तथा सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

बर्दिया : बर्दियाका मधुवन र ठाकुरबाबा नगरपालिकामा युवालाई जलवायु अनुकूल व्यवसाय, हरित रोजगारी तथा उद्यमशीलतासँग जोड्ने उद्देश्यले दोस्रो चरणको यति परियोजना सुरु गरिएको छ । प्लान इन्टरनेशनल नेपालको साझेदारीमा बाँके युनेस्को क्लबद्वारा सञ्चालित परियोजनाको प्रारम्भ बैठक दुवै स्थानीय तहमा सम्पन्न भएको हो ।

परियोजनाले युवाको सीप र क्षमता विकाससँगै रोजगारी तथा स्वरोजगारीका अवसर सिर्जना गर्ने, युवा उद्यमशीलता प्रवद्र्धन गर्ने र जलवायु परिवर्तनका असर न्यूनीकरणका लागि युवाको सक्रिय सहभागिता बढाउने लक्ष्य लिएको छ ।

परियोजनाका गतिविधिमार्फत स्थानीय आवश्यकताअनुसार युवालाई व्यवसाय तथा उद्यममा आबद्ध गराउने र उनीहरूलाई आर्थिक रूपमा आत्मनिर्भर बनाउने विषयमा जोड दिइएको छ ।

मधुवन नगरपालिकामा नगर प्रमुख तेजबहादुर भाटको अध्यक्षतामा भएको बैठकमा उपप्रमुख अनिता चौधरीसहित जनप्रतिनिधि, विभिन्न शाखाका कर्मचारी, युवा उद्यमी तथा सफल व्यवसायीहरूको सहभागिता थियो ।

बैठकमा परियोजनाका गतिविधि स्थानीय आवश्यकता र प्राथमिकतासँग जोडेर प्रभावकारी रूपमा कार्यान्वयन गर्ने विषयमा छलफल गरिएको थियो ।

त्यस्तै ठाकुरबाबा नगरपालिकामा नगर प्रमुख तिलकराम लम्सालको अध्यक्षतामा परियोजना प्रारम्भ बैठक सम्पन्न भएको थियो । कार्यक्रममा उपप्रमुख बीना कुमारी भट्टराईसहित जनप्रतिनिधि, शाखा प्रमुख, युवा उद्यमी तथा स्थापित उद्यमीहरूको सहभागिता रहेको थियो ।

बैठकमा बाँके युनेस्को क्लबका कार्यकारी निर्देशक रवि कुमार तुलाधर, सपना परियार र क्लबका सदस्य शंकर सिंह थारूको सक्रिय सहभागिता रहेको थियो । परियोजना संयोजक राधेकृष्ण थारूले पहिलो चरणमा आर्थिक वर्ष २०२६ मा हासिल भएका उपलब्धि तथा परियोजनाले पारेको प्रभावबारे प्रस्तुतीकरण गरेका थिए ।

थारूले दोस्रो चरणमा सञ्चालन हुने कार्यक्रम, लक्ष्य, उद्देश्य, कार्यनीति, कार्यान्वयन प्रक्रिया, बजेट तथा अपेक्षित उपलब्धिबारे जानकारी गराउँदै परियोजनाले युवालाई जलवायु अनुकूल व्यवसाय र हरित रोजगारीतर्फ आकर्षित गर्ने बताए । उनले पहिलो चरणमा स्थापना भएका उद्यमलाई निरन्तरता दिँदै थप सुदृढ र विस्तार गर्नुपर्ने आवश्यकतामा पनि जोड दिए ।

परियोजनाअन्तर्गत युवालाई परम्परागत रोजगारीमा मात्र सीमित नराखी वातावरणमैत्री तथा दिगो व्यवसायका क्षेत्रमा अवसर खोज्न प्रोत्साहित गरिने बताइएको छ । जलवायु परिवर्तन र विश्वव्यापी तापक्रम वृद्धिका कारण सिर्जित चुनौतीलाई रोजगारी तथा उद्यमशीलताको अवसरसँग जोडेर समाधान खोज्ने प्रयास परियोजनाको महत्वपूर्ण पक्षका रूपमा अघि सारिएको छ ।

बैठकमा सहभागी स्थानीय तहका प्रतिनिधि तथा सरोकारवालाहरूले युवाको उद्यमशीलता विकास र रोजगारी सिर्जनाका लागि परियोजनाको भूमिका महत्वपूर्ण हुने बताएका थिए । उनीहरूले परियोजनाका गतिविधिलाई स्थानीय सरकारका कार्यक्रमसँग समन्वय गरी प्रभावकारी रूपमा कार्यान्वयन गर्न आवश्यक सहयोग र सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

पहिलो चरणमा स्थापना भएका उद्यमलाई दिगो बनाउने, सफल व्यवसायको विस्तार गर्ने तथा नयाँ युवालाई उद्यमशीलतामा जोड्ने विषयलाई परियोजनाको दोस्रो चरणमा प्राथमिकता दिइने भएको छ । यसबाट स्थानीयस्तरमै रोजगारी र स्वरोजगारीका अवसर विस्तार हुनुका साथै युवालाई जलवायु परिवर्तन न्यूनीकरणका अभियानमा समेत सक्रिय बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

लुम्बिनी प्रदेश सरकारले बाँकेमा बनायो १५ पुल

२० भाद्र २०८३, शनिबार १८:५४
समाचार सारांश Generated Using AI बर्दियाका मधुवन र ठाकुरबाबा नगरपालिकामा युवालाई जलवायु अनुकूल व्यवसाय, हरित रोजगारी र उद्यमशीलतासँग जोड्ने दोस्रो चरणको यति परियोजना सुरु भएको छ।परियोजनाले युवाको सीप तथा क्षमता विकास, रोजगारी–स्वरोजगारी सिर्जना र जलवायु परिवर्तन न्यूनीकरणमा युवा सहभागिता बढाउने लक्ष्य लिएको छ।पहिलो चरणमा स्थापित उद्यमलाई दिगो बनाउँदै थप युवालाई […]

सम्बन्धित