समाचार सारांश
- भोटेकोशी बाढीमा ज्यान गुमाएका कोहलपुरका नगरवासीका परिवारलाई नगरपालिकाले काजकिरिया खर्चबापत तत्काल जनही ५० हजार रुपैयाँ राहत दिने निर्णय गरेको छ।
- हालसम्म कोहलपुरका दुई जनाको मृत्यु भएको र ११ जना सम्पर्कविहीन रहेको नगरपालिकाले जनाएको छ।
- बेपत्ताको खोज तथा उद्धारका लागि जनप्रतिनिधि, नगर प्रहरी र आफन्तसहितको टोली परिचालन गर्दै नगरपालिकाले राहत, उद्धार तथा शव व्यवस्थापनको जिम्मेवारी लिने भएको छ।

कोहलपुर (बाँके) : बाँकेको कोहलपुर नगरपालिकाले भोटेकोशी बाढीमा ज्यान गुमाएका नगरवासीका परिवारलाई काजकिरिया वापत तत्काल ५० हजार रुपियाँ राहत उपलब्ध गराउने भएको छ ।
शनिबार बसेको नगरकार्यपालिका बैठकले बाढीमा मृत्यु भएका नगरवासीका परिवारलाई काजकिरिया खर्चबापत जनही ५० हजार रुपियाँ उपलब्ध गराउने निर्णय भएको नगरप्रमुख पूर्णप्रसाद आचार्यले जानकारी दिए ।
हालसम्म कोहलपुरका दुई जनाको बाढीमा परी मृत्यु भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार कोहलपुर नगरपालिका–११ का कबिलाल थारु र सोही वडाका महेश थारुको मृत्यु भएको हो ।
कबिलालको शव चितवनमा फेला परेको थियो । उनको शनिबारै कोहलपुरस्थित शवदाहगृहमा अन्त्यष्टिसमेत गरिएको नगर प्रहरी प्रमुख वीरबहादुर थापाले बताए । महेशको शव शनिबार राति कोहलपुर ल्याइपु¥याइएको र अहिले अन्तिम संस्कार कार्य भइरहेको जानकारी दिए । उनले कोहलपुरका अझै ११ जना सम्पर्कविहीन भएको विवरण आफन्तहरुले नगरपालिकालाई टिपाएका जानकारी दिए ।
कार्यपालिकाको बैठकले बाढी तथा विपद्का कारण ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । साथै, बाढीका कारण बेपत्ता भएका कोहलपुरवासीको खोज तथा उद्धारका लागि टोली परिचालन गर्ने निर्णय गरिएको छ ।
वडा नम्बर १२ का वडाअध्यक्ष वीरेन्द्रकुमार शाहको नेतृत्वमा वडा नम्बर २ का वडाअध्यक्ष हरिसिंह कठायतल, ५ का वडाअध्यक्ष दीपेन्द्र श्रेष्ठ र ६ का वडाअध्यक्ष श्रीकृष्ण थारु, नगर प्रहरी तथा बेपत्ता नागरिकका परिवारका सदस्यसहितको टोली सम्बन्धित क्षेत्रमा पुगेर खोज तथा उद्धारमा समन्वय गर्ने जनाइएको छ ।
विपद् प्रभावितको खोज, उद्धार, राहत तथा शव व्यवस्थापनको जिम्मेवारी नगरपालिकाले लिने निर्णयसमेत गरेको छ । राहत तथा उद्धारमा सहयोग पु¥याउन जनप्रतिनिधि र कर्मचारीले तीनदेखि सात दिनसम्मको पारिश्रमिक बराबरको रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय पनि बैठकले गरेको नगरप्रमुख आचार्यले जानकारी दिए ।


