समाचार सारांश
- नेपालगञ्जका मुस्लिम समुदायले यस वर्षको मोहम्मद जयन्तीमा धार्मिक जुलुस निकाल्दा डिजे तथा अत्यधिक ध्वनी प्रयोग नगर्ने निर्णय गरेका छन्।
- मुस्लिम अगुवाहरूले कार्यक्रमलाई शान्तिपूर्ण, मर्यादित, अनुशासित र व्यवस्थित बनाउँदै सामाजिक सद्भावलाई प्राथमिकता दिने बताएका छन्।
- बहुधार्मिक नेपालगञ्जमा आपसी सम्मान, सहकार्य र सामाजिक एकता कायम गर्ने निर्णयको स्थानीयस्तरमा स्वागत गरिएको छ।

नेपालगञ्ज : नेपालगञ्जका मुस्लिम समुदायले यस वर्षको मोहम्मद जयन्तीका अवसरमा निकालिने धार्मिक जुलुसमा ठूलो स्वरको बाजा (डिजे) नबजाउने निर्णय गरेका छन् ।
मुस्लिम अगुवाहरूको एक भेलाले सो दिवसमा अवसरमा आयोजना हुने सबै खालका कार्यव्रmमलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित बनाउन डिजे तथा अत्यधिक ध्वनी प्रयोग नगर्ने निर्णय गरेका हुन् ।
इस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मदको जन्मदिनका अवसरमा यही भदौ १० गते मनाइने मोहम्मद जयन्तीका कार्यव्रmमबारे नेपालगञ्जस्थित स्थानीय जामा मस्जिदमा गत आइतबार साँझ भएको मुस्लिम धर्मगुरु, सामाजिक अगुवा, बुद्धिजीवी तथा सरोकारवालाको भेलाले यस्तो निर्णय गरेको हो ।

मुस्लिम समुदायका अगुवा अतहर हुसेन फारुकीले धार्मिक कार्यव्रmमको गरिमा र मर्यादा कायम राख्दै सामाजिक सद्भाव र सार्वजनिक शान्तिलाई प्राथमिकता दिने उद्देश्यले डिजे नबजाउने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार मोहम्मद जयन्तीका अवसरमा निकालिने धार्मिक जुलुसलगायत सबै कार्यव्रmमलाई व्यवस्थित र अनुशासित बनाइने छ ।
मुस्लिम धर्मगुरु तथा मदरसा बरकातियाका प्रअ मौलाना जियाउल मुस्तफा नुरानीले नेपालगञ्जको बहुधार्मिक तथा बहुसांस्कृतिक पहिचानलाई थप बलियो बनाउन आपसी सम्मान, सहकार्य र सामाजिक एकता आवश्यक रहेको बताए । उनले धर्म फरक भए पनि शान्ति, सद्भाव र मानवता सबैको साझा जिम्मेवारी भएकाले सोही भावना अनुसार मोहम्मद जयन्ती मनाउन मुस्लिम समुदायलाई आग्रह गरे ।
भेलामा ओल्मा काउन्सिल बाँकेका अध्यक्ष मौलाना नसरुद्दिन अन्सारी, मुफ्ती कैफुलवरा, मौलाना जमाल अहमद, मौलाना जियाउल मुस्तफा, मौलाना जाफर, मुस्लिम इत्तेहाद सङ्गठनका केन्द्रीय अध्यक्ष हारुन हलवाई, जामा मस्जिद सञ्चालक समितिका अध्यक्ष अ–युब सिद्दिकी, इरफान सिद्दिकी, मेराज अहमद, फिरोज वारसीलगायतको सहभागिता थियो । मुस्लिम समुदायले गरेको निर्णयको स्थानीय अन्य धर्म समुदाय तथा सामाजिक क्षेत्रका व्यक्तिहरूले स्वागत गरेका छन् ।

