समाचार सारांश
- नेपालगञ्ज उपमहानगरपालिका–१८ ले आर्थिक रूपमा विपन्न परिवारलाई निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण अभियान सुरु गरेको छ।
- पहिलो चरणमा सय परिवारलाई बीमा सुविधा उपलब्ध गराउँदै आगामी महिनादेखि थप आवश्यक परिवारलाई समेट्ने वडा कार्यालयले जनाएको छ।
- वडाध्यक्ष दीपककुमार बर्माले स्वास्थ्य सुरक्षा नागरिकको आधारभूत अधिकार भएकाले विपन्न परिवारलाई उपचारको आर्थिक चिन्ताबाट मुक्त गराउने उद्देश्यले अभियान सञ्चालन गरिएको बताए।

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १८ ले वडाका विपन्न तथा आर्थिक रूपमा कमजोर परिवारको स्वास्थ्यलाई ध्यानमा राखेर निःशुल्क स्वास्थ्य बीमा कार्ड वितरण गर्ने अभियान सुरु गरेको छ ।
सो अभियान अन्तर्गत वडा कार्यालयले विभिन्न टोलमा बसोबास गर्ने आर्थिक रूपमा विपन्न परिवारमध्ये पहिलो चरणमा सय परिवारलाई स्वास्थ्य बीमा कार्ड निःशुल्क उपलब्ध गराउन सुरु गरेको हो ।
वडाध्यक्ष दिपककुमार बर्माका अनुसार आर्थिक अभावका कारण कुनै पनि नागरिक आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले वडाका सबै विपन्न नागरिकको स्वास्थ्य बीमा गराउने अभियान सुरु गरिएको हो ।
उनले स्वास्थ्य सुरक्षा नागरिकको आधारभूत अधिकार भएकाले विपन्न परिवारको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखेर सो कार्यक्रम अघि बढाइएको बताए ।

वडाध्यक्ष बर्माले राजनीति जनताको जीवनसँग जोडिनुपर्ने र जनप्रतिनिधिले नागरिकको सुख–दुःखमा साथ दिनुपर्ने मान्यताका साथ स्वास्थ्य बीमा अभियान सञ्चालन गरिएको जनाउँदै यो कार्यक्रम केवल स्वास्थ्य बीमा कार्ड वितरणमा सीमित नभइ आर्थिक रूपमा कमजोर परिवारको स्वास्थ्य सुरक्षाप्रतिको सामाजिक जिम्मेवारी र मानवीय संवेदनाको प्रयास भएको बताए ।
आगामी महिनादेखि थप आवश्यक परिवारको स्वास्थ्य बीमा कार्ड बनाउने प्रक्रिया अघि बढाइने जानकारी दिंदै उनले आवश्यकता र पहुँचका आधारमा अभियानलाई विस्तार गर्दै थप विपन्न परिवारलाई स्वास्थ्य बीमाको दायरामा समेट्ने योजना रहेको जनाए ।
वडाअध्यक्ष बर्माले भने–‘जनताको सेवा नै हाम्रो प्राथमिकता र स्वास्थ्य सुरक्षा नै हाम्रो प्रतिबद्धता हो, त्यसैले यो कार्यक्रम सञ्चालन गरिएको हो ।’
वडा कार्यालयले निःशुल्क स्वास्थ्य बीमा गरेपछि सो वडाका विपन्नहरु खुसी भएका छन् । नेपालगञ्ज १८ कारकाँदोका राधेश्यम बर्माले वडाले निःशुल्क बीमा गरिदिएपछि अब स्वास्थ्य उपचारको चिन्ता समाप्त भएको बताए ।


