समाचार सारांश
- हुलाकी राजमार्गअन्तर्गत बाँके–दाङ सीमाक्षेत्रमा बाँकी सडक र पुल निर्माणका लागि करिब ७ अर्ब ५० करोड रुपैयाँ लागत अनुमानसहित अन्तिम ठेक्का आह्वानको तयारी भइरहेको छ।
- वन क्षेत्रको भोगाधिकार र रुख कटानसम्बन्धी सिफारिस प्राप्त भएपछि ठेक्का प्रक्रिया अघि बढाइने हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ।
- सडक निर्माण सम्पन्न भएपछि कपिलवस्तुदेखि दाङ, बाँके, बर्दिया हुँदै सुदूरपश्चिमसम्मको यात्रा सहज हुने र यो मार्ग पूर्व–पश्चिम राजमार्गको वैकल्पिक सडकका रूपमा उपयोग हुने अपेक्षा गरिएको छ।

नेपालगञ्ज : हुलाकी राजमार्गअन्तर्गत बाँके र दाङको सीमाक्षेत्रमा बाँकी रहेको सडक खण्ड तथा पुल निर्माणका लागि अन्तिम ठेक्का आह्वानको तयारी गरिएको छ ।
दाङमा २२ किलोमिटर सडक र २१ वटा पुल तथा बाँकेमा ३६ किलोमिटर कालोपत्रे सडक निर्माणका लागि करिब सात अर्ब ५० करोड रुपियाँ लागत अनुमानसहित ठेक्का आह्वानको तयारी भइरहेको हुलाकी राजमार्ग निर्देशनालय, योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए ।
“भोगाधिकार र रुख कटानका लागि सम्बन्धित निकायबाट सिफारिस प्राप्त हुनासाथ ठेक्का आह्वान गर्ने तयारीमा छौँ,” भण्डारीले भने, “यो सडक निर्माण सम्पन्न भएपछि कपिलवस्तुबाट दाङको दक्षिणी सीमाहुँदै बाँके प्रवेश गरी बर्दिया हुँदै सुदूरपश्चिम पुग्न सहज हुनेछ र दूरीसमेत कम हुनेछ ।”

सडक निर्माणका लागि डिभिजन वन कार्यालय बाँकेबाट अधिकांश प्रक्रिया पूरा भइसकेको भए पनि दाङ डिभिजन वन कार्यालयको सिफारिस भने प्रदेश वन तथा वातावरण मन्त्रालयमा पुगेको छ । मन्त्रालयबाट भोगाधिकार र रुख कटानका लागि आवश्यक सिफारिस प्राप्त भएपछि लामो समयदेखि रोकिएको प्रक्रिया अघि बढ्ने अपेक्षा गरिएको छ ।
हुलाकी राजमार्गअन्तर्गत बाँकेको राप्तीसोनारी गाउँपालिकाको बैजापुरदेखि दाङको राजपुर गाउँपालिकाको गौगदीसम्मको सडक खण्ड निर्माण हुन बाँकी छ । दाङतर्फ अधिकांश क्षेत्रमा सडकको ट्र्याक मात्र खोलिएको छ ।
यसैगरी दाङको हाडबासदेखि बाँकेको राप्तीसोनारी गाउँपालिका–बैजापुरसम्मको खण्ड पनि निर्माण हुन बाँकी रहेको छ । दाङ खण्डको तुलनामा बाँकेको बाँकी भाग भौगोलिक रूपमा बढी चट्टानी र जोखिमयुक्त रहेको बताइएको छ ।
हुलाकी सडक निर्माण सम्पन्न भएपछि पश्चिम तराईका जिल्लामा पूर्व–पश्चिम राजमार्गको वैकल्पिक मार्गका रूपमा समेत प्रयोग हुने अपेक्षा गरिएको छ ।

