समाचार सारांश
- नेपालगञ्ज उपमहानगरपालिकाको सहयोग तथा पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम मेयर कप महिला तथा पुरुष ५एस हक्की प्रतियोगिता–२०८३ नेपालगञ्जमा सुरु भएको छ।
- प्रतियोगिताको पहिलो दिन महिलातर्फ त्रिभुवन चोक क्लब र बाँके गाउँ क्लब विजयी भए भने पुरुषतर्फ बाबु गाउँ क्लबले जित हात पार्दा बाँके गाउँ क्लब र महेन्द्र पार्क क्लबले बराबरी खेले।
- आयोजकले हक्की खेलको विकास, खेलाडी उत्पादन तथा युवालाई खेलकुदतर्फ आकर्षित गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको जनाएको छ।

नेपालगञ्ज : नेपालगञ्ज उप– महानगरपालिकाको सहयोग तथा पूर्व खेलाडी समाज बाँकेको आयोजनामा प्रथम मेयर कप महिला तथा पुरुष ५एस हक्की प्रतियोगिता–२०८३ आजदेखि नेपालगञ्जमा सुरु भएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपालका पूर्व अन्तर्राष्ट्रिय भलिबल रेफ्री अजीत कुमार शर्मा रहेको सो प्रतियोगिताको उद्घाटन शत्र पूर्व खेलाडी समाज बाँकेका अध्यक्ष प्रकाश बहादुर श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको थियो ।
प्रतियोगिता असार ४ र ५ गतेसम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा ४ महिला तथा ४ पुरुष टोलीको सहभागिता रहेको छ । खेलहरू लिग कम नक–आउट प्रणालीमा सञ्चालन भइरहेको छ ।
आज सम्पन्न खेलहरूको नतिजा अनुसार महिलातर्फ पहिलो खेलमा त्रिभुवन चोक क्लबले बाबु गाउँ क्लबलाई ३–० गोल अन्तरले पराजित गर्दै महत्वपूर्ण ३ अंक हात पार्यो । दोस्रो खेलमा बाँके गाउँ क्लबले महेन्द्र पार्क क्लबलाई १–० गोल अन्तरले हराउँदै ३ अंक बटुल्न सफल भयो ।

पुरुषतर्फ पहिलो खेलमा बाँके गाउँ क्लब र महेन्द्र पार्क क्लबबीच १–१ गोलको बराबरी भएपछि दुवै टोलीले १÷१ अंक बाँडे। दोस्रो खेलमा बाबु गाउँ क्लबले त्रिभुवन चोक क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै ३ अंक प्राप्त गर्यो ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख अतिथि शर्माले हक्की खेलको विकास र विस्तारका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले खेलकुदले अनुशासन, मित्रता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्ने भएकाले युवापुस्तालाई खेलतर्फ आकर्षित गर्न आवश्यक रहेको धारणा राखे । उनले पूर्व खेलाडी समाज बाँकेले विभिन्न खेलकुद गतिविधि सञ्चालन गरी खेल क्षेत्रको विकासमा पु¥याएको योगदानको प्रशंसा समेत गरे ।

समाजका सभापति श्रेष्ठले बाँके जिल्लामा हक्की खेलको पुनर्जागरण र खेलाडी उत्पादन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको बताए । उनले खेलकुदमार्फत युवाहरूलाई सकारात्मक मार्गतर्फ उन्मुख गराउने तथा खेल संस्कृतिको विकास गर्ने लक्ष्यका साथ आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए । साथै प्रतियोगिता सफल बनाउन सहयोग गर्ने नेपालगञ्ज उपमहानगरपालिका, सहभागी टोली, खेलाडी, प्रशिक्षक तथा सम्पूर्ण सहयोगीहरूलाई धन्यवाद व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन पूर्व खेलाडी समाज बाँकेका सचिव नरेन्द्र थापाले गरेका थिए । आयोजकका अनुसार प्रतियोगिताका बाँकी खेलहरू आज बेलुका ६ बजेदेखि पुनः सञ्चालन हुनेछन्।


