समाचार सारांश
- लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जनमजय तिमिल्सिनाले बालअधिकार संरक्षण र बालमैत्री समाज निर्माणका लागि सरकार, नागरिक समाज र समुदायबीच सहकार्य आवश्यक रहेको बताएका छन् ।
- बालअधिकारसम्बन्धी तालिम कार्यक्रममा उनले बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र सहभागिताको अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उल्लेख गरे ।
- पीस नेपाल र बालअधिकारका लागि नागरिक सञ्जालको आयोजनामा भएको कार्यक्रममा बालअधिकार संरक्षणका चुनौती र प्रभावकारी अनुगमन प्रणालीबारे छलफल गरिएको थियो ।

नेपालगञ्ज : लुम्बिनी प्रदेशमा बालअधिकार संरक्षण र बालमैत्री समाज निर्माणलाई प्रभावकारी बनाउन सरकार, नागरिक समाज र समुदायबीचको सहकार्यलाई थप मजबुत बनाउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
पीस नेपाल र बालअधिकारका लागि नागरिक सञ्जालको आयोजनामा सम्पन्न कार्यक्रममा प्रदेशका १२ जिल्लाका नागरिक सञ्जालका अगुवा, बालअधिकारकर्मी तथा बालसञ्जालका प्रतिनिधिहरूको सहभागिता रहेको कार्यक्रममा सो कुरामा जोड दिईएको हो ।
कार्यक्रममा लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जनमजय तिमिल्सिनाले ‘बालअधिकारसम्बन्धी कार्यक्रम तथा अनुगमन तालिम’ मा बोल्दै बालबालिकाको शिक्षा, स्वास्थ्य, सुरक्षा र सहभागिताको अधिकार सुनिश्चित गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताए ।
उनले बालअधिकारसम्बन्धी नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहदेखि प्रदेशस्तरसम्म समन्वय, अनुगमन तथा निगरानी प्रणालीलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिए ।

उनले बालविवाह, बालहिंसा, बालशोषण तथा दुव्र्यवहारजस्ता समस्या अन्त्यका लागि सबै पक्षको साझा प्रयास आवश्यक रहेको उल्लेख गरे ।
कार्यक्रममा बालअधिकारसम्बन्धी नीति तथा कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि स्थानीय तहदेखि प्रदेशस्तरसम्म अनुगमन र निगरानी प्रणाली सुदृढ बनाउनुपर्ने विषयमा छलफल गरिएको थियो ।
सहभागीहरूले बालमैत्री वातावरण निर्माणमा सञ्चारमाध्यम, अभिभावक, समुदाय र नागरिक समाजको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका थिए ।
तालिममार्फत् बालअधिकारसम्बन्धी कार्यक्रमको प्रभावकारी कार्यान्वयन, अनुगमन तथा नागरिक समाजको भूमिकालाई थप सशक्त बनाउने अपेक्षा गरिएको आयोजकले जनाएको छ । पिस नेपालका अध्यक्ष मणिप्रसाद गैरेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा , सामाजिक विकास मन्त्रालयका सचिव दिवाकर भण्डारी, बाल अधिकारका लागि नागरिक सञ्जालका संयोजक शालिग्राम पाण्डे लगायतले प्रदेशमा बालअधिकारको अवस्था र नागरिक समाजको भूमिका बारेमा छलफल गरेका थिए ।


