समाचार सारांश
- कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्य ले शिक्षा र खेलकुदलाई प्राथमिकतामा राख्दै ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमलाई कोहलपुरका सबै विद्यालयमा विस्तार गर्ने प्रतिबद्धता जनाएका छन् ।
- कार्यक्रममा दीपक बिष्ट, सन्तोषी श्रेष्ठ, देबु थापा लगायत ओलम्पियनहरूले विद्यार्थीलाई प्रेरणा, खेल अनुभव र सेल्फ डिफेन्स सम्बन्धी प्रशिक्षण दिएका थिए ।
- नेपालगञ्ज र कोहलपुरमा सञ्चालन गरिएको ‘स्कुल टु ओलम्पिक’ अभियानमार्फत विद्यार्थीलाई खेलकुद र ओलम्पिक सपनासँग जोड्ने उद्देश्य राखिएको आयोजकले बताएका छन् ।

कोहलपुर (बाँके) : कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यले शिक्षा र खेलकुदलाई उच्च प्राथमिकतामा राखेर आफुले काम गरिरहेको बताएका छन् ।
कोहलपुरमा आयोजित ‘स्कुल टु ओलम्पिक’ कार्यक्रमलाई सम्बोधनगर्दै मेयर आचार्यले आगामी बर्षदेखि ‘स्कुल टु ओलम्पिक’ कार्यक्रम हरेक स्कुलमा पुग्ने वातावरण बनाउन आफुले सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरे ।
‘प्रस्तावना दिनुहोस्, हरेक स्कुले विद्यार्थी माझ ओलम्पियनका अनुभव साटासाट गर्ने वातावरण तयार गर्न आवश्यक बजेटसहित कार्यक्रम बनाउँछौं ।’ नेपाल एपीएफ स्कुलको हलमा आयोजित कार्यक्रममा प्रमुख आचार्यले भने–‘विद्यार्थीलाई खेलकुदसँग जोड्ने हरेक खेललाई सम्बोधन गर्न तयार छु, अब एउटा स्कुलमा मात्र हैन, कोहलपुर क्षेत्रका सम्पुर्ण विद्यालय लाभान्वित हुनेगरी स्कुल टु ओलम्पिकलाई साझा कार्यक्रमका रुपमा विकास गर्नुपर्नेछ ।’

नेपाल ओलम्पियन संघका अध्यक्ष दीपक बिष्टले मेयर आचार्यलाई मायाको चिनो प्रदान गरे । अध्यक्ष बिष्ट दक्षिण एशियाली खेलकुदमा चार स्वर्ण पदक जित्ने नेपालका एकमात्र खेलाडी हुन् । उनले एशियाली खेलकुदमा दुई कास्यपदक जितेका छन् भने छनोट चरण पार गरे ओलम्पिकमा भागलिने दोस्रो नेपाली खेलाडी हुन् ।
हालै उनी वल्र्ड ओलम्पियन एसोसियसनको कार्यसमिति सदस्यमा निर्वाचित भएका छन् । ओलम्पियन बिष्टले स्कुले विद्यार्थीलाई ओलम्पिकसम्म जाने सपना, आशा र विश्वास दिलाउन आफुहरुले देशव्यापी अभियान चलाएको बताए ।
कार्यक्रमम ानेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठले स्कुल टु ओलम्पिक कार्यक्रम निकै सदुपयोगी भएको बताए । एपीएफ स्कुलका विद्यार्थीलाई ओलम्पियन जुडोकी देबु थापा र उसुकी साग स्वर्ण विजेता जुनु राईले सेल्फ डिफेन्स सम्बन्धी ज्ञान र कला सिकाएका थिए भने ओलम्पियन सन्तोषी श्रेष्ठले आफ्नो यात्रा, संघर्ष र सफलताकाबारे सुनाउँदा विद्यार्थीहरु निकै उत्साहित देखिएका थिए । ओलम्पियन देबुले पनि विद्यार्थीलाई अभिप्रेरित गरेकी थिइन् । नेपाली राष्ट्रिय क्रिकेट टिमका पुर्व कप्तान एलबी क्षेत्रीले विद्यार्थीलाई प्रेरित गर्ने कार्यक्रम निरन्तर सन्चालनहुनुपर्ने धारणा व्यक्त गरे ।
यसअघि नेपालगञ्जमा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा विभिन्न स्कुलका डेढ सय विद्यार्थीले ओलम्पियनसँग अन्तरक्रिया गरेका थिए । वल्र्ड रनिङको साझा निकाय एसोसियसन अफ इन्टरनेसनल म्याराथन एण्ड डिस्टेन्स रेस(एम्स)बाट मान्यताप्राप्त नेपालगञ्ज १० म्युजिक नाइट रनलाई स्कुल टु ओलम्पिकसँग जोडेर नेपालगञ्जमा भव्य कार्यक्रम गरिएको थियो ।
नेपालगञ्जमा भएको स्कुल टु ओलम्पिक कार्यक्रममा ओलम्पियन सुरेन्द्र हमाल र पहिलो नेपाली महिला ओलम्पियन पार्वती थापा समेतले आफ्ना अनुभव साटेका थिए । रेस नेपाल र क्रियटिभ गन्ज मिडियाले यस कार्यक्रमको संयोजन गरेका थिए ।

