नेपालगञ्ज उपमहानगरद्वारा अनाधिकृत र अव्यवस्थित बसपार्क हटायो

सदरलाइन संवाददाता ७ बैशाख २०८३, सोमबार १९:३९
 
समाचार सारांश
Generated Using AI
  • नेपालगञ्ज उपमहानगरपालिकाले अव्यवस्थित र गैरकानुनी रूपमा सञ्चालन भइरहेका बसपार्क हटाएको छ।
  • सडक दुर्घटना जोखिम, यात्रु ठगिने र आवागमन प्रभावित भएपछि नगर प्रहरी, नेपाल प्रहरी र ट्राफिक प्रहरीको संयुक्त टोलीले हटाएको हो।
  • साथै फुटपाथ अतिक्रमण गरेर दर्ता बिना व्यवसाय गर्नेहरुलाई पनि हटाउँदै एकद्वार बसपार्क प्रणाली लागू गर्ने तयारी गरिएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले नगरका विभिन्न चोक र सडक छेउमा नै अस्तव्यस्त पार्नेगरि मनपरी तरिकाले सञ्चालन गरिएका अव्यवस्थित र गैर कानुनी बसपार्कलाई हटाएको छ ।

त्यसरी सञ्चालन गरिएका बसपार्क कै कारण सडक दुर्घटना हुने खतरा बढ्नुका साथै यात्रुको अनावश्यक तानातान र खिचातानी हुने र सडकमा आवागमन समेत प्रभावित हुन थालेको गुनासो उठेपछि उपमहानगरपालिकाले त्यस्ता बसपार्क हटाएको हो ।

बर्दिया गुलरियाका लागि गाडी छुट्ने धम्बोझी चोकनजिकैको खजुरा रोडस्थित बसपार्क र पश्चिम तथा पूर्वका विभिन्न जिल्लाहरुका लागि गाडी छुट्ने पुष्पलाल चोक वाटरपार्कस्थित बसपार्कलाई सोमवार नगर प्रहरीले हटाएको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्य बहादुर बोगटीले बताए ।

उनले नगर प्रहरीको अगुवाईमा नेपाल प्रहरी र ट्राफिक प्रहरीको उपस्थितिमा ती बसपार्कहरु हटाइएको जनाउँदै अब जहाँ पायो त्यहि बसपार्क बनाउन नदिने बताए ।


नेपालगञ्ज उपमहानगरको नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक बोगटीले नेपालगञ्ज–४ मा अत्याधुनिक र सुविधा सम्पन्न बसपार्क हुँदाहुँदै कतिपय ठाउँमा मनलाग्दी अब्यवस्ति र गैर कानुनी तरिकाले बसपार्क राखेकोले पूर्व सूचना अनुसार नै बसपार्क हटाइएको बताए ।

यसअघि माइकिंग गरेर बसपार्क हटाउन सूचित गरिएको जनाउँदै उनले बसपार्कबाट गाडी छुट्ने एकद्वार प्रणाली लागू गर्न उपमहानगरपालिका प्रतिबद्ध रहेको बताए । ठाउँ ठाउँमा अब्यवस्थित बसपार्क हुँदा यात्रुहरुलाई दुःख, हैरानी दिने, तानातान गर्ने प्रबृत्ति रहेको गुनासो उपमहानगरमा पटक पटक आएको उपमहानगरपालिकाले जनाएको छ ।

यस्तै नगर प्रहरीले नेपालगञ्ज १० गणेशमान चोकदेखि पश्चिमतर्फ भृकुटीनगरमा ब्यवसाय दर्ता नै नगरी लामो समयदेखि फुटपाथ कब्जा गरेर बसेका व्यवसायीलाई पनि हटाएको छ ।

नेपाली र भारतीय समेत रहेका ती ब्यवसायीहरुलाई हटाइएको नगर प्रहरी सहायक निरीक्षक पवनकुमार कनौजियाले जानकारी दिए । उनले उनीहरुलाई अनिवार्य रुपमा व्यवसाय दर्ता गर्न समेत निर्देशन दिइएको जनाउँदै अन्य ठाउँमा पनि यसरी नै व्यवसाय दर्ता नगरेर व्यवसाय गर्नेहरुलाई हटाउने जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *