‘पैसा नहुने नागरिकले पनि स्वास्थ्य सेवा पाउन’

सदरलाइन संवाददाता १६ बैशाख २०८३, बुधबार १९:४४
 
समाचार सारांश
Generated Using AI
  • बाँके–३ का सांसद खगेन्द्र सुनार ले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल को स्वास्थ्य सेवाबारे जानकारी लिँदै सेवा विस्तार र गुणस्तर सुधारमा जोड दिएका छन्।
  • अस्पतालले अत्याधुनिक प्रविधिबाट विभिन्न विशेषज्ञ सेवा प्रदान गर्दै स्वास्थ्य बीमा कार्यक्रममार्फत दैनिक सयौं बिरामीलाई उपचार गरिरहेको जनाएको छ।
  • आर्थिक रूपमा कमजोरलाई उपचार पहुँच बढाउन सरकारी सहकार्य आवश्यक रहेको र मातृ सुरक्षा कार्यक्रम पुनः सञ्चालनको तयारी भइरहेको जानकारी दिइएको छ।
यो सारांश AI द्वारा सिर्जना गरिएको हो।

कोहलपुर (बाँके)  : बाँके निर्वाचन क्षेत्र ३ बाट निर्वाचि प्रतिनिधि सभा सदस्य खगेन्द्र सुनारले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल, कोहलपुरले प्रदान गर्दै आएको स्वास्थ्य सेवाबारे विस्तृत जानकारी लिएका छन् ।

शिक्षण अस्पताल कोहलपुरमा बुधबार आयोजित स्वागत तथा भेटघाट कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुनारले अस्पतालले हालसम्म उपलब्ध गराउँदै आएको सेवा, त्यसको प्रभावकारिता तथा आगामी दिनमा थप विस्तार गर्न सकिने स्वास्थ्य सेवाका विषयमा चासो व्यक्त गर्दै सेवाग्राहीको पहुँच बढाउने र गुणस्तरीय स्वास्थ्य सेवा सुनिश्चित गर्ने विषयमा विशेष जोड दिएका थिए ।

लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको अस्पतालको योगदानको प्रशंसा गर्दै उनले भने, ‘तपाईंहरूको समर्पित कार्यले धेरै बिरामीहरूले पुनर्जीवन पाएका छन् । मानव जीवनरक्षा जस्तो पवित्र कार्यमा लाग्नुभएका सबै चिकित्सक तथा कर्मचारी धन्यवादका पात्र हुनुहुन्छ ।’

उनले आर्थिक रूपमा कमजोर नागरिकहरू उपचारबाट वञ्चित नहुने वातावरण बनाउन आग्रह गर्दै त्यसका लागि सरकारसँग सहकार्य गरेर विशेष कार्यक्रम सञ्चालन गर्नुपर्ने आवश्यकता औंल्याए । कार्यक्रममा प्रतिनिधि सभा सदस्य सुष्मा स्वर्णकारले पनि स्वास्थ्य क्षेत्रका देखिएका समस्या समाधानका लागि अहिलेको सरकार तिव्र गतिमा अग्रसर भएको बताइन् ।


कार्यक्रममा अस्पतालका निर्देशक प्रा.डा. रेशम बहादुर रानाले हाल अस्पतालमा विभिन्न विशेषज्ञ सेवा सञ्चालनमा रहेको जानकारी दिए । उनले अत्याधुनिक प्रविधियुक्त उपकरणमार्फत जटिल रोगहरूको सफल उपचार भइरहेको उल्लेख गर्दै कुनै पनि किसिमका रोगहरूको पहिचान र उपचार सहज रूपमा भइरहेको बताए ।

उनका अनुसार नेपाल सरकारको स्वास्थ्य बीमा कार्यक्रममार्फत दैनिक सयौं सेवाग्राहीहरूले उपचार सेवा लिइरहेका छन् । साथै, केही समयदेखि स्थगित मातृ सुरक्षा कार्यक्रमलाई पुनः सञ्चालनमा आउने अन्तिम तयारी भइरहेको पनि उनले जानकारी गराए ।

यसैगरी, प्रशासन संयोजक तथा सम्पर्क अधिकृत रामकृष्ण हमालले करोडौं लागतमा निर्माण गरिएको सवारी पार्किङ हालैदेखि सर्वसाधारणका लागि निःशुल्क रूपमा सञ्चालनमा ल्याइएको बताए ।

उनले अस्पतालले प्रदान गर्ने सम्पूर्ण सेवाबारे जानकारी लिन र उपयोग गर्न सर्वसाधारणलाई आग्रहसमेत गरे । साथै उनले अस्पतालको सेवा प्रवाह, उपलब्धि र भावी योजनाबारे जानकारी आदान–प्रदान गर्नुका साथै स्वास्थ्य सेवाको पहुँच र गुणस्तर सुधारतर्फ सबै सरोकारवाला निकायहरूसँग थप सहकार्यको आवश्यकता रहेको औंल्याए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित