समाचार सारांश
- बाँकेका ५६ उम्मेदवारमध्ये ५४ जनाले मात्र निर्वाचन खर्च विवरण बुझाएका छन्।
- माजिद अली शेख र सिताराम यादवले तोकिएको समयभित्र विवरण नबुझाएका हुन्।
- समयसीमा नाघेपछि उनीहरूलाई प्रतिनिधि सभा निर्वाचन ऐनअनुसार कारबाही हुने जनाइएको छ।

नेपालगञ्ज : गत फागुन २१ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बाँके जिल्लाका तीनवटै निर्वाचन क्षेत्रबाट उम्मेदवार बनेका ५६ जनामध्ये ५४ जनाले निर्वाचन खर्च विवरण बुझाएका छन् ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका अनुसार निर्वाचनमा ५६ जनाले उम्मेदवारी दर्ता गराएकोमा हालसम्म ५४ जनाले मात्र खर्च विवरण कार्यालयमा बुझाएका हुन् ।
जिल्ला निर्वाचन कार्यालय बाँकेका सूचना अधिकारी युवराज पन्तले निर्वाचन परिणाम घोषणा भएको ३५ दिन भित्र भित्र सबै उम्मेदवारले खर्च विवरण बुझाउनुपर्ने प्रावधान रहेकोमा २ जनाले अझै विबरण नबुझाएका हुन ।

बाँकेको निर्वाचन परिणाम फागुन २३ गते घोषणा गरिएकाले ३५ दिन भित्र खर्च विवरण बुझाइसक्नु पर्ने समयसीमा रहेको थियो । कार्यालयका अनुसार प्रगतिशिल लोकतान्त्रिक पार्टीका उम्मेदवार माजिद अली शेख र रष्ट्रिय एकता पार्टीका उम्मेदवार सिताराम यादवले विवरण बुझाउन बाँकी छ ।
उनीहरु दुबैजना बाँके प्रतिनिधि सभा क्षेत्रनं २ बाट प्रतिनिधि सभासदस्य पदका उम्मेदवार थिए । निर्वाचनको नतिजा सार्वजनिक भएको ३५ दिन भित्र खर्च विवरण नबुझाउने उम्मदेवारलाई प्रतिनिधि सभा निर्वाचन २०८२ को दफा ८० को ५ अनुसार कारवाही हुने जिल्ला निर्वाचन कार्यालयका सुचना अधिकारी पन्तले जनकारी दिए ।
बाँके जिल्लाको क्षेत्र नम्बर १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सुरेशकुमार चौधरी, क्षेत्र नम्बर २ बाट नेकपा (एमाले) का मोहम्मद इश्तियाक राई र क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकै खगेन्द्र सुनार विजयी भएका छन् ।


