समाचार सारांश
- नेपालगञ्ज उपमहानगरपालिकाले गृहणी महिलालाई आत्मनिर्भर बनाउन गरिबी निवारणका लागि लघु उद्यमशिलता विकास तालिम सञ्चालन गरेको छ।
- पहिलो चरणमा वडा नं. ४ मा ३० जना गृहणी महिलालाई ८ दिने तालिम दिइँदैछ, जसबाट व्यवसाय छनोट, नाफा–घाटा हिसाब र स्वरोजगार सम्बन्धी सीप सिकाइनेछ।
- उपमहानगरले यस कार्यक्रममार्फत सिमान्तकृत तथा पछाडि परेका समुदायका महिलालाई स्वरोजगारमार्फत आत्मनिर्भर बनाउने लक्ष्य राखेको छ।

नेपालगञ्ज : नेपालगञ्ज उपमहानगरपालिकाले गृहणी महिलालाई आत्मनिर्भर बनाउने उद्देश्यले गरिबी निबारणका लागि लघु उद्यम विकास कार्यक्रम (मेडपा) अन्तरगत लघु उद्यमशिलता विकास तालिम सञ्चालन गरेको छ ।
नेपालगञ्ज उपमहानगरका २ वटा वडा छर्नाैट गरी पहिलो लटमा ३० जना गृहणी महिलालाई प्रशिक्षार्थी राखेर वडानं ४ मा लघु उद्यमशिलता विकास तालिम सञ्चालन गरिएको नेपालगञ्ज उपमहानगर कि उद्यम विकास सहजकर्ता प्रिया खड्काले जनाकारी दिईन ।
उनले भनिन्–‘घरमा बसेर समय बिताई रहेका गृहणी महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले ८ दिनको लघु उद्यमशिलता विकास तालिम सञ्चालन गरेका छौ । तालिम पछि कम्तिमा पनि ६० जना गृहणी महिला स्वारोजगार हुन सक्नु हुनेछ ।’
उनले यो तालिममा सहभागि गृहणी महिलाले नाफा घाटा लेखाजोखा गर्नसक्ने, बजारको माग अनुसारको व्यवसाय छनौट गर्न सक्ने, आत्मनिर्भर बन्ने जस्ता सिप सिकाउने बताईन ।

नेपालगञ्ज–४ कि खिमा खत्रीले घरमा घरको काम मात्र गरेर दिन बिताउने गरेकोमा उपमहनागरले आफु जस्तालाई स्वरोजगार र आत्मनिर्भर बनाउन लघु उद्यमशील विकास तालिम सञ्चालन गरिदिएको बताईन ।
तालिममा सहभागी नेपालगञ्ज–४ कै मेनाका ढुंङ्गानाले आफुहरु गृहणी महिलाले यो तालिमबाट स्वरोजगार बनेर आत्मनिर्भर हुने कुरामा ढुक्क भएको र यस तालिमले आफुहरुमा हामी पनि केही गर्न सक्छौ भन्ने आट आएको प्रतिकृया दिईन ।
नेपालगञ्ज उपमहानागरका सामाजिक गैसस तथा साझेदारी विकास शाखाले यो आर्थिक वर्षमा लघु उद्यमशील जस्तो स्वरोजगारमुलक तालिम सञ्चालन गरि गृहणी महिलालाई आत्मनिर्भर बनाउने लक्ष लिइएको शाखा प्रमुख कृष्णराज जोशी बताउछन् ।
उनले नेपालगञ्ज उपमहानगरले नगरबासिलाई स्वरोजगार र आत्मनिर्भर बनाउने उद्देश्यले विभिन्न ट्रेडका तालिम सञ्चालनमा ल्याएको र लघु उद्यमशील विकास तालिमबाट सिमान्तकृत तथा पछाडी पारीएका समुदायका गृहणी महिलालाई आत्मनिर्भर बनाउन कुरामा जोड दिए ।


