समाचार सारांश
- बाँकेमा फागुन २१ को निर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय बाँकेले भारतसँग जोडिएका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गरेको छ।
- फागुन १८ रातिदेखि २१ रातिसम्म आवतजावत बन्द रहनेछ भने अत्यावश्यक सेवाबाहेक सवारी सञ्चालनमा रोक लगाइनेछ।
- निर्वाचन सुरक्षित बनाउन नेपाल र भारत दुवैतर्फ कडा सुरक्षा व्यवस्था गरिनेछ।

नेपालगञ्ज : फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै भारतसँग जोडिएका बाँकेका सीमा नाकाहरू ७२ घण्टाका लागि बन्द गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय बाँकेले सूचना जारी गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्नका लागि भारतसँग जोडिएका जिल्लाका सबै सीमा नाका ७२ घण्टाका लागि बन्द गरिएको जानकारी दिएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी दिलकुमार तामाङ्गले फागुन १८ गते (सोमबार) राति १२ बजेदेखि फागुन २१ गते (बिहीबार) राति १२ बजेसम्म सीमा नाकाहरू पूर्ण रूपमा बन्द रहने जानकारी दिए ।

उनले सो अवधिमा सीमाबाट पैदलयात्री, मालवाहक तथा यात्रुवाहक सवारी साधनको आवतजावतमा रोक लगाइने बताए । यसैगरी फागुन २० गते (बुधबार) राति १२ बजेदेखि फागुन २१ गते मतदान कार्य सम्पन्न नभएसम्मका लागि सवारी साधन सञ्चालनमा निषेध गरिएको छ ।
एम्बुलेन्स, दूधका ट्याङ्कर, दमकल, दूरसञ्चार सेवा, शववाहन, अस्पताल तथा विद्युत् सेवा जस्ता अत्यावश्यक सेवा र अनुमति प्राप्त सवारी साधनबाहेक अन्य सवारी सञ्चालन गर्न नपाइने प्रमुख जिल्ला अधिकारी तामाङ्गले जानकारी दिए ।
निर्वाचनको सुरक्षालाई ध्यानमा राख्दै नेपाल–भारत दुवैतर्फ उल्लेख्य रूपमा सुरक्षाकर्मी परिचालन गरिने समेत प्रशासनले जनाएको छ ।


