समाचार सारांश
- बाँके क्षेत्र नं. ३ का नेपाली कांग्रेस उम्मेदवार अमर सिंह पुनले सुशासन र विकासलाई मुख्य प्रतिबद्धता बनाएका छन्।
- उनले सुकुम्बासी तथा भूमिहीनका समस्या समाधान र मान खोलाबाट हुने कटान नियन्त्रणमा पहल गर्ने बताएका छन्।
- कृषि क्षेत्रमार्फत आर्थिक उन्नति सम्भव भएकाले त्यसका लागि अनुकूल वातावरण बनाउने उनको योजना छ।

खजुरा (बाँके) : बाँके क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट उम्मेदवार बनेका अमर सिंह पुनले नेपाली जनताले अपेक्षा गरेको सुशासनको मुद्दालाई आत्मसाथ गरेर बाँके क्षेत्र नम्बर–३ लाई समुन्नत बनाउने आफ्नो मुख्य प्रतिवद्धता भएको बताएका छन् ।
पुनले सुकुम्वासी, भूमिहिनहरुका समस्यालाई नीतिगत रुपमा सम्बोधन गर्नको लागि नयाँ ढंगले काम गर्ने बताए । आफूलाई अत्याधिक मतसहित विजयी गराएर बाँके क्षेत्र नम्बर–३ का जनताले नेतृत्व गर्ने अवसर प्रदान गर्ने पुनले विश्वास गरे ।

स्थानीय जनताका समस्यालाई सम्बोधन गर्न आफू सक्षम रहेको बताउँदै पुनले भने,‘घरदैलोका क्रममा आम मतदाताले हामीलाई अथाहा माया र विश्वास गर्नुभएको महशुस भयो । तर, हामीले उहाँहरुको मनोभावनालाई बुझेर काम गर्न सकिरहेको छैनौं । जनतालाई सुशासन र विकास चाहिएको छ । त्यो आम नेपालीको चाहना पनि हो । हामी नयाँ नेतृत्व र नीति लिएर जनता माझ आएका छौं । नेपाली जनताको समृद्धिको सपना हाम्रो लक्ष्य हो ।’
नेपाली कांग्रेस लुम्बिनी प्रदेश सभापति एवम् संविधान सभा सदस्य पुनले मान खोलाले बाँके क्षेत्र नम्बर ३ का धेरै जनताको जमिन कटानमा परेको समस्यालाई सम्बोधन गर्न पहल गर्ने बताए । बाँके क्षेत्र नम्बर ३ ले कृषि क्षेत्रबाट आर्थिक उन्नति गर्न सक्ने सम्भावना भएकोले यहाँको जनतालाई कृषिबाट आर्थिक उन्नति गर्ने वातावरण निर्माण गर्न आवश्यक रहेको पुनले बताए ।


