समाचार सारांश
- नेपाली काँग्रेस बाँकेले जानकी गाउँपालिकामा आयोजित आमसभामा काँग्रेस सभापति गगनकुमार थापाले सुशासन, शिक्षा र स्वास्थ्य सुधारलाई मुख्य एजेण्डा बनाउने प्रतिबद्धता जनाए।
- उनले विगतका सरकारप्रति असन्तुष्टि व्यक्त गर्दै भ्रष्टाचार नियन्त्रणका लागि कडा कदम चाल्ने बताए।
- चुनावी माहोलबीच भएको उक्त सभा कांग्रेसको नीतिगत सन्देश केन्द्रित कार्यक्रमका रूपमा देखिएको छ।

नेपालगञ्ज : प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै जाँदा नेपाली काँग्रेसले बाँकेको जानकी गाउँपालिकामा चुनावी सभाको आयोजना गरेको छ
आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै गरिएको उक्त सभा आयोजना गरिएको हो । सभामा सभापति गगन थापा प्रमुख अतिथी रहेका थिए । स्थानीय बासिन्दा, कार्यकर्ता र समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।
सभालाई सम्बोधन गर्दै सभापति थापाले आफ्नो दलको आगामी पाँच वर्षको योजना सार्वजनिक गरे । जसमा रोजगारी सिर्जना, लगानीमैत्री वातावरण निर्माण र ठूला पूर्वाधार आयोजनाको तीव्र कार्यान्वयनलाई प्रमुख प्राथमिकतामा राख्ने बताए ।
उनका अनुसार अबको समय “असामान्य काम गर्ने समय” हो, जहाँ परम्परागत शैलीले होइन, तीव्र निर्णय र जोखिम लिन सक्ने नेतृत्व आवश्यक छ । उनले थन्किएका पूर्वाधार आयोजना छोटो समयमा सम्पन्न गर्न स्पष्ट योजना र दृढ राजनीतिक इच्छाशक्ति आवश्यक रहेको उल्लेख गरे ।

थापाले शिक्षा र स्वास्थ्य क्षेत्रलाई पनि उच्च प्राथमिकतामा राख्दै जनताले प्रत्यक्ष अनुभूति गर्ने सुधार ल्याउने दाबी गरे । “एक रुपैयाँ पनि दुरुपयोग नगरी शिक्षा र स्वास्थ्यलाई सुदृढ बनाइनेछ,” उनले भने । साथै, २०४६ सालयता सार्वजनिक पदमा रहेका प्रधानमन्त्री र मन्त्रीहरूको छानबिन गर्ने घोषणा गर्दै उनले सुशासन र पारदर्शितामा कडा प्रतिबद्धता व्यक्त गरे ।
इतिहासको प्रसंग जोड्दै उनले संविधान निर्माण प्रक्रियाको जटिलता स्मरण गरे र वर्तमान अवस्थामा संविधानको रक्षा र कार्यान्वयनका लागि आफ्नो दललाई मत दिन अपिल गरे । यस सन्दर्भमा उनले सुशील कोइराला नेतृत्वमा संविधान जारी भएको उल्लेख गर्दै त्यसको संरक्षण अहिलेको मुख्य दायित्व भएको बताए ।


