समाचार सारांश
- एमाले उम्मेदवार तथा पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले डुडुवालाई विकासमा पछाडि परेको क्षेत्र भन्दै नेपालगञ्जसँगको कनेक्टिभिटीलाई प्राथमिकतामा राख्ने बताएका छन्।
- पूर्वाधार विकास, सडक र पुल निर्माणलाई प्राथमिकता दिँदै डुडुवालाई पूर्वाधार सम्पन्न बनाउने योजना उनले अघि सारेका छन्।
- स्थानीयले भने नेपालगञ्ज र डुडुवाबीचको विकास असमानताबारे उम्मेदवारसँग प्रश्न उठाउँदै आएका छन्।

नेपालगञ्ज : एमाले उम्मेदवार तथा पूर्वमन्त्री मोहम्मद इश्तियाक राईले पश्चिम नेपालको प्रमुख सहर नेपालगञ्जसँग जोडिएको डुडुवालाई विकासको दृष्टिले पछाडि परेको बताउँदै यसलाई प्राथमिकतामा राखिएको बताएका छन् ।
नेकपा एमालेतर्फ बाँके–२ का उम्मेदवार राईले बाँकेको डुडुवामा आयोजित चुनावी कोणसभामा सम्बोधन गर्दै नेपालगञ्ज–डुडुवा ‘कनेक्टिभिटी’ यसपटक आफ्नो विशेष प्राथमिकता भएको बताए ।
उनले भने–‘विकासको दृष्टिले नेपालगञ्जभन्दा डुडुवा धेरै पछाडि छ । अब बिगत जस्तो हुँदैन, डुडुवा र नेपालगञ्ज सँगसँगै अगाडि बढ्ने छन् । यो बत्ति मुनिको अध्यारो जस्तो भएको छ ।’

उनले केही दिनअघि सार्वजनिक गरेको प्रतिबद्धता पत्रमा पनि पूर्वाधार अभाव झेलिरहेको डुडुवा गाउँपालिकालाई पूर्वाधार सम्पन्न बनाउने विषयलाई विशेष महत्त्व दिएको उल्लेख गरे ।
पूर्वाधार मन्त्री हुँदा छोटो समयका लागि डुडुवा क्षेत्रका सडक र पुल निर्माणका थुप्रै योजना पारित गराइएको र तीमध्ये केही योजना पुरा भइसकेको, केही निर्माणको चरणमा रहेको उनले जानकारी दिए । ‘घरदैलोमा जाँदा ती योजनाहरु देख्दा अति नै खुसी महसुस हुन्छ,’ राईले भने ।
बाँके–२ बाट एमालेका उम्मेदवार राईले वितेका तीन वर्षमा जनतामा चेत आएको र अब फेरी त्यस्तो अवस्था नहोस भन्ने चाहना रहेको बताए ।पूर्वमन्त्री राईले समुदायगत विविधता बाँकेको निर्वाचन क्षेत्र नं. २ को महत्त्वपूर्ण परिचय भएको उल्लेख गर्दै, विविधताभित्र निहित एकताको भाव र खुसहाल जीवनको चाहले सबै नेपालीलाई एकतामा बाँधेको बताए ।
डुडुवा कम्दीका स्थानीय सोहन यादवले भने , ‘घरदैलोमा डुडुवा पुग्ने हरेक उम्मेदवारसँग जनताले प्रश्न गर्छन् नेपालगञ्ज र डुडुवा एउटै निर्वाचन क्षेत्रमा भए पनि विकासमा यति फरक किन ?’


