समाचार सारांश
- नेपाली काँग्रेसका उम्मेदवार सुधान्सु कोइरालाले जनताको विश्वासलाई घात गर्नेछैन र साथमै लिएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
- नेपालगञ्ज उपमहानगरपालिका–२२ मा घरदैलोका क्रममा उनले जनताको भरोसाबाटै चुनाव जित्ने बताए।
- मतदाताले उनलाई युवा र सक्षम उम्मेदवार भन्दै समर्थन र उत्साह व्यक्त गरेका छन्।

नेपालगञ्ज : नेपाली काँग्रेसको तर्फबाट बाँके प्रतिनिधि सभा क्षेत्र नम्बर २ का उम्मेदवार शुधान्सु कोइरालाले जनतालाई साथमा लिएर मात्र आफुले काम गर्ने प्रतिवद्धता जनाएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ मा मंगलबार (आज) बिहान भएको घरदैलोका क्रममा उनले जनताबाट प्राप्त विश्वासलाई आफुले कहिल्यै घात नगर्ने बताए ।

‘मलाई यसपटक विश्वास गरेर आफ्नो अमुल्य मत दिनुहोस्, म तपाईहरुको विश्वासलाई कायमै राखेर अगाडी बढ्नेछु, तपाईहरुको विश्वासलाई घात गर्नेछैन,’ कोइरालाले भने । आफुले जनताकै आड, भरोसाबाट चुनाव जित्ने बताउँदै जनताले दिएको अमुल्य मायालाई कदापी नभुल्ने प्रतिबद्धता जनाए ।
नेपाली काँग्रेस नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ का वडासभापति विद्याराम बर्माको अगुवाईमा गरिएको घर दैलोका क्रममा उपस्थित मतदाताले नेपाली कांग्रेसले युवा र सक्षम उम्मेदवारका रुपमा कोइरालालाई उठाएकोमा खुसी ब्यक्त गरेका थिए ।
घरदैलोका क्रममा उम्मेदवार कोइरालासँगै नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर २२ का वडा सभापति बर्मा, महासमिति सदस्य राजकुमार बर्मा, नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिकाका उपसभापति धनराज बर्मा, नेतृ खगेश्वरी रावत, कांग्रेस बाँकेका जिल्ला कार्यसमिति सदस्य आशिष बर्मा, नेपाली कांग्रेस नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ९ का वडा सभापति अखबर शेख, युवा नेता ओमप्रकाश चौहान, तरुण दलका अनुज बर्मा, नेपाली कांग्रेसका अगुवा नेता फनबहादुर गुरुङ लगायत नेता तथा कार्यकताहरुको उपस्थिती रहेको थियो ।


