समाचार सारांश
- नेपाली सेनाले २६३औँ वार्षिकोत्सवको अवसरमा बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको बालबालिका संरक्षण केन्द्रलाई खाद्यान्न, खेलकुद र स्टेशनरी सामग्री सहयोग गरेको छ।
- केन्द्रमा आश्रित ३५ जना अनाथ तथा असहाय बालबालिकाका लागि दाल, चामल, तेललगायत सामग्री हस्तान्तरण गरिएको हो।
- विद्यालय र निकुञ्ज प्रशासनले यस्तो सहयोगले संरक्षण केन्द्र सञ्चालनमा सहजता ल्याउने बताएका छन्।

बर्दिया : नेपाली सेनाको २६३ औँ वार्षिकोत्सवको अवसरमा बर्दियाको मधुवन नगरपालिका–१ पत्थरबोझीमा रहेको बालबालिका संरक्षण केन्द्रलाई खाद्यन्न, खेलकुद र स्टेशनरी सामग्रीको सहयोग गरिएको छ ।
बर्दिया राष्ट्रिय निकुञ्जको सुरक्षामा तैनाथ जबरजंग गणले सरस्वती आधारभूत विद्यालयले अनाथ तथा असहाय बालबालिकाको लागि सञ्चालन गरेको संरक्षण केन्द्रलाई सो सहयोग गरेको हो । संरक्षण केन्द्रमा हाल ३५ जना बालबालिका छन् ।

गणका गणपति दिपेन्द्र शाहीले स्थापना दिवसको अवसर पारेर दैनिक भान्सामा प्रयोग हुने दाल, चामल, चिनी, मसला, तेल लगायतको सामग्री, खेलकुद सामग्री र स्टेशनरी सामग्री हस्तान्तरण गरिएको बताए ।
बर्दिया राष्ट्रिय निकुञ्जमा संरक्षण अधिकृत एवं सूचना अधिकारी सरोजमणि पौडेलले नेपाली सेनाले अनाथ र असहायको बालबालिकाको आवश्यकतालाई पहिचान गरी सहयोग गरेर उत्तम कार्य गरेको बताए ।
विद्यालयका शिक्षक ताराप्रसाद वलीले विभिन्न निकायहरूले सहयोग गरेको गर्दा संरक्षण केन्द्र सञ्चालनमा सहज हुने बताए । उनका अनुसार विद्यालयका बालबालिकालाई विभिन्न व्यक्ति, संघ–संस्था, सरकारी निकायहरुले सहयोग गर्दै आएका छन् ।


