समाचार सारांश
- नारायण प्रसाद गौडेल बाँके–१ मा प्रतिनिधिसभा निर्वाचनका लागि घरदैलो अभियानमा सक्रिय छन्।
- उनको पक्षमा माधवराम खत्री पनि कोहलपुर–१० मा मतदातासँग भेटघाटमा सहभागी भएका छन्।
- मतदाताले रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासमा परिणाम देखिने कामको अपेक्षा राखेका छन्।

कोहलपुर : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरु मतदाताको घरदैलोमा पुगिरहेका छन् । नेताहरु पनि पार्टीका उम्मेदवार जिताउन अग्रसर भएका छन् ।
बाँके क्षेत्र नं. १ मा नेपाली काँग्रेसका तर्फबाट उम्मेदवार बनेका नारायण प्रसाद गौडेलको पक्षमा माहोल बनाउन पूर्व क्षेत्रिय सभापति माधवराम खत्री पनि घरदैलोमा निस्किएका छन् ।
सोमवार बिहानको मधुरो घामसँगै गौडेलसंगै खत्री कोहलपुर नगरपालिका वडा नं. १० मा स्थानीयका ढोकाढोका पुग्दै उनी मतदातासँग हातेमालो गर्दै आफ्ना प्रतिबद्धता सुनाए ।

वडा कार्यसमितिको आयोजनामा भएको घरदैलो कार्यक्रममा स्थानीय नेता, कार्यकर्ता र समर्थकहरुको उल्लेखनीय उपस्थिति देखिएको थियो ।
पूर्व क्षेत्रिय सभापति खत्रीले गौडेलको घरदैलो अभियान उत्साहपूर्ण तरिकाले अघि बढिरहेको बताए । लामो समयदेखि बाँके क्षेत्र नं. १ का जनताको सुखदुःखमा खटिँदै आएका गौडेललाई यसपटक आफ्नै निर्वाचन क्षेत्रबाट उम्मेदवारका रुपमा पाउँदा मतदातामा थप उत्साह जागेको खत्रीले बताए ।
घरदैलोमा भेटिएका धेरै मतदाताले रोजगारी, शिक्षा, स्वास्थ्य र पूर्वाधार विकासका विषयलाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन् । उनीहरु भन्छन् अबको नेतृत्वले प्रतिवद्धता मात्रै होइन, परिणाम पनि देखाउनुपर्छ ।
गौडेलले पनि आफ्ना सम्बोधनमा जनताको अपेक्षा बुझ्दै त्यसअनुसार काम गर्ने प्रतिबद्धता व्यक्त गर्दै आएका छन् । उनले विकास र समृद्धिलाई केन्द्रमा राख्दै आफ्नो अभियान अघि बढाइरहेको बताएका छन् ।


