समाचार सारांश
- पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले पहाडी र हिमाली क्षेत्रमा बादल लागेको छ भने तराईका केही स्थानमा कुहिरो लाग्ने सम्भावना छ।
- कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्छ।
- हिमपात, वर्षा र हुस्सुले जनजीवन, यातायात, पर्यटन र स्वास्थ्यमा असर पार्न सक्ने भएकाले सतर्कता अपनाउन मौसम महाशाखाले आग्रह गरेको छ।

नेपालगञ्ज : हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव रहेको तथा बागमती र गण्डकी प्रदेशलगायत अन्य पहाडी र हिमाली भूभागमा साधारणतया बादल लागेको छ भने बाँकी भागमा आंशिक बादल लागेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो तराई भागका केही स्थानमा कुहिरो लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा साधारणतया बादल लाग्ने छ भने अन्य भागमा आंशिक बादल लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।

त्यसैगरी, आज राति तराई भागका केही स्थानमा कुहिरो लाग्नेछ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्ने छ भने बाँकी भागमा मौसम मुख्यतया सफा रहने छ । कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना छ ।
महाशाखाले हिमपात, वर्षा र हुस्सुका कारण दैनिक जनजीवन, पर्यटन, पदयात्रा, स्वास्थ्यका साथै हवाई तथा सडक यातायातमा प्रभाव पर्ने भएकाले सतर्कता अपनाउन सम्बद्ध सबैमा आग्रह गरेको छ ।


