समाचार सारांश
- निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन २०–२२ गते सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ।
- मतदानमा सहभागिता बढाउने उद्देश्यले यस्तो प्रस्ताव गरिएको हो, जहाँ फागुन २१ गते मतदान हुँदैछ।
- अन्य बिदासँग जोडिँदा निर्वाचन आसपास लामो बिदा पर्ने सम्भावना देखिएको छ।

नेपालगञ्ज : निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै तीन दिन सार्वजनिक बिदा दिन सरकारसमक्ष सिफारिस गरेको छ । आयोगले फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा घोषणा गर्न नेपाल सरकारलाई अनुरोध गरेको हो ।
आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार मतदानमा मतदाताको उत्साहजनक सहभागिता सुनिश्चित गर्ने उद्देश्यले उक्त सिफारिस गरिएको हो । प्रतिनिधिसभा सदस्य चयनका लागि फागुन २१ गते मतदान हुँदैछ ।

सार्वजनिक बिदाबारे अन्तिम निर्णय भने मन्त्रिपरिषद् बैठकले गर्नेछ । आयोगको सिफारिसअनुसार निर्णय भए निर्वाचनको समयावधिमा करिब एक सातासम्म निरन्तर बिदा पर्न सक्ने देखिन्छ ।
यसअघि फागुन १८ गते पहाडी जिल्लामा फागु पूर्णिमाको बिदा र १९ गते तराई क्षेत्रमा बिदा परेको छ भने फागुन २४ गते शनिबार परेको छ । यसरी हेर्दा निर्वाचन आसपासका दिनहरूमा लामो बिदाको सम्भावना रहेको छ ।


