समाचार सारांश
- नेपाली कांग्रेस बाँके क्षेत्र नं. २ प्रदेश सभा ‘ख’ का सभापति जितेन्द्र हमाल (कैलाश) को उपचारका क्रममा निधन भएको छ।
- क्यान्सरबाट पीडित उनी लामो समयदेखि उपचाररत थिए र उनको निधनले क्षेत्रमा शोक छाएको छ।
- आजै दिउँसो राप्तीनदीस्थित बैकुण्ठधाम सिधनियाघाटमा हिन्दू संस्कारअनुसार अन्त्येष्टि गरिनेछ।

नेपालगञ्ज : नेपाली कांग्रेस बाँके क्षेत्र नम्बर २ प्रदेश सभा ‘ख’ का सभापति जितेन्द्र हमाल (कैलाश) को उपचारको क्रममा निधन भएको छ । नेपालगञ्ज वडा नम्बर १२ निवासी कैलाशको आज बिहान साढे ५ बजे उपचारका क्रममा निधन भएको हो ।
नेता कैलाश केही समयदेखि अस्वस्थ रहँदै उपचाररत थिए । उपचारकै क्रममा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको निधनले नेपाली कांग्रेस बाँके–२ मात्र नभई समग्र क्षेत्रमै शोकको वातावरण छाएको छ ।

पार्टीभित्र सक्रिय, मिलनसार र संगठन निर्माणमा समर्पित नेताका रूपमा परिचित हमालले प्रदेश सभा ‘ख’ मा संगठन विस्तार र कार्यकर्ता परिचालनमा महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
लामो समयदेखि क्यान्सरबाट पीडित रहेका उनको अन्त्येष्टी हिन्दू संस्कार अनुसार आज दिउँसो राप्तीनदीको बैकुण्ठधाम सिधनियाघाटमा गरिने बताइएको छ ।


