नेपालगञ्ज : नेपालगन्जमा घोडा तथा खच्चडको कल्याण, नीति कार्यान्वयन र यस क्षेत्रमा बहु–पक्षीय सहकार्यलाई बलियो बनाउने उद्देश्यका साथ एक दिने ‘बहु–सरोकारवाला संवेदीकरण कार्यशाला’ सम्पन्न भएको छ । एनिमल हेल्थ ट्रेनिङ एण्ड कन्सल्टेन्सी सर्भिस हुफप्रिन्ट प्रोजेक्ट र कामकाजी घोडा र गधाका लागि कार्यरत संस्था ‘ब्रुक’ को संयुक्त आयोजनामा नेपालगञ्जमा उक्त कार्यक्रम सम्पन्न भएको हो ।
‘नीतिदेखि व्यवहारसम्म’ भन्ने मूल नाराका साथ आयोजित यस कार्यशालाको मुख्य उद्देश्य नेपालमा कार्यरत घोडा तथा खच्चडहरूको कल्याणका लागि बनेका सरकारी नीतिहरूको कार्यान्वयन पक्षलाई सबल बनाउनु र सरोकारवाला निकायहरूबीच समन्वय बढाउनु रहेको थियो ।
कार्यशालाको उद्घाटन सत्रमा नेपालगञ्ज उप–महानगरपालिकाका उप–मेयर कमरुद्विन राई प्रमुख अतिथिको रूपमा उपस्थित थिए । कार्यक्रमलाई सम्बोधन गर्दै उनले भारी बोक्ने जनावरहरूको स्वास्थ्य र अधिकारको क्षेत्रमा स्थानीय सरकार र सम्बन्धित निकायहरू गम्भीर हुनुपर्नेमा जोड दिएका थिए । कार्यक्रमको प्राविधिक सत्रमा विभिन्न विज्ञहरूको कार्यपत्र प्रस्तुत गरिएको थियो ।

परामर्शदाता हरि जोशीले ‘नेपालमा कार्यरत घोडाहरूको कल्याणको वर्तमान अवस्थाः गैर–सरकारी संस्थाको परिप्रेक्ष्यबाट समस्या र चुनौतीहरू’ विषयक कार्यपत्र प्रस्तुत गरे । उनले यस क्षेत्रमा देखिएका व्यावहारिक कठिनाइहरू माथि प्रकाश पारेका थिए । पशु सेवा विभाग काठमाडौंका डा. आभास पौडेलले ‘सरकारको विद्यमान पशु कल्याण नीति’ को समीक्षात्मक प्रस्तुति दिँदै नीतिगत व्यवस्थाहरू र सुधारका पाटोबारे जानकारी गराए ।
ब्रुक इन्डिया की प्रतिनिधि सोम्या मंगलले ब्रुक इन्डियाको कार्य अनुभव, म्यान्डेट र भारतमा पशु कल्याणका लागि सरकारी प्रणालीसँग कसरी सहकार्य भइरहेको छ भन्ने विषयमा आफ्नो अनुभव सहितको प्रस्तुति दिएकी थिइन् ।
कार्यक्रमको अन्त्यमा डा. सुदर्शन भट्टराईको सहजीकरणमा प्यानल छलफल आयोजना गरिएको थियो । उक्त छलफलमा सरकारी प्रतिनिधि, ब्रुक इन्डिया, क्वारेन्टाइन कार्यालय, इट्टा उद्योग व्यवसायी संघ र नागरिक समाजका प्रतिनिधिहरूबीच अन्तरक्रिया भएको थियो । छलफलबाट प्राप्त सुझाव र सिफारिसहरूले आगामी दिनमा नीति निर्माण र कार्यान्वयनमा मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ ।


