महेन्द्र पुस्तकालयले उम्मेदवारहरूबीच प्रत्यक्ष चुनावी बहस गर्दै

सदरलाइन संवाददाता १४ माघ २०८२, बुधबार २१:३२
 

 

नेपालगञ्ज : नेपालगञ्जस्थित ऐतिहासिक पुस्तकालय महेन्द्र पुस्तकालयले प्रतिनिधि सभा सदस्यको निर्वाचनलाई लक्षित गर्दै उम्मेदवारहरूबीच प्रत्यक्ष चुनावी बहस कार्यक्रम आयोजना गर्ने भएको छ । पुस्तकालयलाई ज्ञान आर्जनको केन्द्रका साथै विविध विषयमा बौद्धिक विमर्शको थलो बनाउने उदेश्यले नियमित रुपमा विमर्शको कार्यक्रम गर्न लागिएको र त्यसको सुरुवात आसन्न निर्वाचनका उम्मेदवारहरुसँग बहस कार्यक्रमबाट गर्न लागिएको पुस्तकालयका सचिव सतिश निरौलाले जानकारी दिए । आगामी हप्ता आयोजना हुने उक्त कार्यक्रमले मतदातालाई उम्मेदवारहरूको नीति, दृष्टिकोण र प्रतिबद्धताबारे स्पष्ट जानकारी गराउने अपेक्षा गरिएको पनि निरौलाले बताएका छन् । कार्यक्रमका लागि लेखक तथा पुस्तकालयका सल्लाहकार नरेन्द्रजंग पिटरको संयोजकत्वमा उपसमिति गठन गरी तयारी अघि बढाइएको निरौलाले बताए ।


समितिका संयोजक पिटरका अनुसार बाँकेका तीन वटा क्षेत्रका उम्मेदवारहरुसँग विमर्शको कार्यक्रम अलग अलग मितिमा गर्ने गरी तयारी भइरहेको छ । प्रतिनिधि सभा सदस्यका उम्मेदवारहरूबाट उनीहरुको उम्मेदवारीको औचित्यका साथै महत्वपूर्ण एक दर्जन बढी सवालमा धारणा र उनीहरुले गरेको तयारीको फहरिस्त मागिनेछ । राष्ट्रिय तथा स्थानीय मुद्दामा केन्द्रित हुने बहस स्थानीय समस्याको समाधानमा संघीय साँसदको भूमिकादेखि विकास तथा पूर्वाधार, सुशासन र भ्रष्टाचार नियन्त्रण, शिक्षा–स्वास्थ्य र रोजगारी, महिला तथा अल्पसंख्यक अधिकार र वातावरण संरक्षण जस्ता विषयमा केन्द्रित रहने उनले बताए ।

पुस्तकालयमार्फत सार्वजनिक चासोका विषयमा स्वस्थ बहस संस्कृतिको विकास गर्ने प्रयासस्वरुप कार्यक्रम गर्न लागिएको बताउँदै पिटरले उम्मेदवारहरूसँगको बहसले उनीहरुका विचारहरूको तुलनात्मक विश्लेषण गर्न, मतदाताहरूलाई सूचित निर्णय लिन र लोकतान्त्रिक प्रक्रियालाई मजबुत बनाउन सहयोग गर्ने विश्वास व्यक्त गरे । कार्यक्रममा सहभागी भई उम्मेदवारहरुसँग आफ्‌ना चासो र जिज्ञासाहरु राख्न पुस्तकालयले सबैलाई आग्रह गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगञ्जमा सुरु

१४ माघ २०८२, बुधबार २१:३२
नेपालगञ्ज : दशौं लुम्बिनी प्रदेश स्तरीय प्रदर्शनी मेला आजदेखि नेपालगञ्जमा सुरु भएको छ । महिला उद्यमी संघ नेपाल बाँकेको आयोजनामा सुरु भएको प्रदर्शनी माघ १८ गतेसम्म संचालन हुनेछ । मेलाको नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले पानसमा बत्ती बालेर उद्घाटन गरे । महिला उद्यमीहरुले उत्पादन गरेका वस्तु तथा सामग्रीको बजारीकरण, प्रचार–प्रसार […]

सम्बन्धित