
नेपालगञ्ज : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँकेमा राजनीतिक दलहरुले उम्मेदवार टुङ्ग्याउने कार्य अन्तिम चरणमा पु-याएका छन् । यहाँका मुख्य ५ दल मध्ये ३ दलले शतप्रतिशत उम्मेदवार छनोट गरिसकेका छन् भने १ दलको १ क्षेत्रमा र अर्को १ दलको २ वटा क्षेत्रमा छनोट गर्न बाँकी नै छ । त्यसका लागि संवाद र छलफल जारी रहेको दलहरुले बताएका छन् ।
नेकपा एमालेबाट क्षेत्र नम्बर १ मा सुर्य ढकाल, क्षेत्र नम्बर २ मा मोहम्मद इस्तियाक राई तथा क्षेत्र नम्बर ३ मा दलबहादुर सुनार लाई उम्मेदवार बनाएर टिकट प्रदान गरिएको छ ।
नेपाली काँग्रेस बाँकेले क्षेत्र नं १ मा नारायण गौडेल, क्षेत्र नं २ मा सुधान्सु कोइरालालाई उम्मेद्वार बनाएको छ । क्षेत्र नम्बर ३ मा भने अँझै टुगो लाग्न सकेको छैन । यद्यपी त्यस क्षेत्रमा छलफल र संवाद भने भईरहेको छ ।

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले बाँके क्षेत्र नम्बर १ का लागि नरेन्द्र पाण्डे जेम्स, क्षेत्र नम्बर २ का लागि दीपेन्द्र विष्ट र क्षेत्र नम्बर ३ का लागि दीपक जिएमलाई उम्मेदवार बनाएर टिकट प्रदान गरेको छ । तीनै जना उम्मेदवारलाई नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिकेट दिएर पठाएको बताईएको छ ।
यता राष्टिय स्वतन्त्र पार्टीले बाँकेले पनि ३ वटै क्षेत्रका लागि आफ्ना उम्मेद्वारहरु छनोट गरिसकेको छ । रास्वपाले क्षेत्र नम्बर १ मा सुरेश चौधरी, क्षेत्र नम्बर २ मा विवेक श्रेष्ठ र क्षेत्र नम्बर ३ मा खगेन्द्र सुनारलाई उम्मेदवार बनाएको छ ।

जनता समाजवादी पार्टी नेपालले भने बाँके क्षेत्र नं २ बाट कमरुद्दीन राईलाई उम्मेदवार बनाउँदै छ । त्यसकै लागि नेपालगञ्ज उप–महानगरपालिकाका उप–मेयर समेत रहेका राईले आजै राजिनामा दिएका छन् । जसपा नेपालले बाँकेका अन्य दुई क्षेत्र क्षे.नम्बर १ र ३ मा भने उम्मेद्वारको टुंगो लगाईसकेको अवस्था छैन ।
बाँके जिल्लाका ३ वटै निर्वाचन क्षेत्र मध्ये क्षेत्र नम्बर २ लाई विषेश महत्वका साथ हेरिएको छ । यसै क्षेत्रमा अघिल्लो निर्वाचनका बेला राप्रपा–एमालेको गठबन्धनका कारण हार बेहोरेका इस्तियाक राई अहिले पुर्व सहकर्मी कमरुद्दीन राई सित एमालेकै सुर्य चिन्ह लिएर आमने–सामने हुनेछन् । यता नेपाली काँग्रेसका सुधान्सु, रास्वपाका विवेक र नेकपाका दीपेन्द्र पनि युवा जमातमा लोकप्रिय नामहरु हुन् ।


