
नेपालगञ्ज : आन्दोलनका नाममा बिध्वंश मच्चाउन नपाईने नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले बताएका छन् । नेपालगञ्जमा आज नेपाली कांग्रेस बाँकेको नवनिर्मित सुशील कोइराला स्मृति भवनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै सह–महामन्त्री राठौरले राज्यका तीन वटै अंग जलाइनु, दर्जनौं नेपाली मारिनु, पार्टीका केन्द्रदेखि जिल्लासम्मका पार्टी कार्यालय ध्वस्त पारिनु कुनैपनि दृष्टिकोणले सहि नभएको बताएक हुन् ।
उनले भने,–‘यो व्यवस्था संसारकै उत्कृष्ट व्यवस्था हो । भलै यो व्यवस्था हाँक्ने व्यक्ति गलत थिए होलान् । त्यसको विरोध गर्न पाईन्छ । तर, विरोधका नाममा विध्वशं मच्चाउन पाईदैन । आज कार्यपालिका जलेको छ । व्यवस्थापिका जलेको छ । न्यायपालिका जलेको छ । जेन्जीका नाममा जेजति जलेको छ, त्यसको जिम्मा जेन्जीले लिनुपर्छ ।’
आफुहरुपनि राणाशासन ढालेर, निरङ्कुस पञ्चायती शासन ढालेर संसारको उत्कृष्ट व्यवस्था ल्याएको तर यस्तो विध्वशं नगरेको बताउदै नेता राठौरले समयमै बुद्वी पु-याउन नसके १० बर्ष पछि देश खण्डहर बन्ने परिस्थिति आउने विचार व्यक्त गरे । उनले आशन्न निर्वाचनबारे पनि चिन्ता व्यक्त गरेका थिए । ‘तोकिएको मितिमा चुनाव नभए देश गृहयुद्धमा फस्ने कुरा निश्चित छ । यसकारण पनि चुनाव अपरिहार्य छ । तोकिएको मितिमा चुनाव नभए बचेको लोकतान्त्रिक व्यवस्थाको एक त्यान्द्रोपनि रहन्छ की रहन्न भन्ने चिन्ता छ ।’–उनले भने ।
पार्टीले १५औं महाधिवेशन र आमनिर्वाचनको तयारी संगसंगै अघि बढाएको जानकारी दिँदै सिद्धान्त, आस्था र संगठनले जित्ने पार्टी नेतृत्व र काँग्रेसले जित्ने निर्वाचनका लागि तल्लोदेखि माथिल्लो तहसम्मका नेता कार्यकर्ता सक्रिय हुनु पर्ने उनको भनाई थियो ।


यसैविच नेपाली कांग्रेसका केन्द्रीय सदस्य दीपक गिरीले आफु लोकतन्त्रको सिपाही भएको बताएका थिए । उनले आशन्न निर्वाचनमा आफुहरुपनि सहभागि हुने र कसैसंग गठबन्धन नगरी निर्वाचनमा जाने उल्लेख गरे । उनले पाटीको आगामी महाधिवेशनमा उप–सभापति पदमा उम्मेदवारी दिने घोषणा समेत गरेका छन् । नेपालगञ्जबाट उपसभापति पदमा लड्ने घोषणा गर्दै उनले आफु कुन समूहबाट लड्ने भन्ने विषय पछि टुंगो लाग्ने समेत बताए ।
नेपाली काँग्रेसको अधिवेशनका सन्दर्भमा कुरा गर्दै नेपाली काँग्रसका केन्द्रिय नेता संजय गौतमले बलियो काँगे्रसका लागि अधिवेशन अनिवार्य शर्त रहेको बताए । उनले भने,–‘जसरी मान्छेको जिवनमा प्राण जरुरी छ । पाटीको जिवनमा पनि त्यसको प्राण भनेको विचार नै हो । नेपाली काँग्रेसले बोकेको विचारले नै आज संसार हाँकेको छ ।’

नेपाली काँग्रेस पार्टीका सह–महामन्त्री किशोर सिंह राठौरको प्रमुख आतिथ्यतामा सम्पन्न कांग्रेस बाँकेको नवनिर्मित सुशील कोइराला स्मृति भवनको उद्घाटन गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले स्मृति भवन कांग्रेसको संगठन मजबुत बनाउने, राजनीतिक प्रशिक्षण, विचार–विमर्श तथा सामाजिक गतिविधिको केन्द्रका रूपमा उपयोग हुने विश्वास व्यक्त गरेका थिए ।
नेपाली कांग्रेस बाँकेका सभापति नारायण गौडेलले भवन निर्माणमा सहयोग गर्ने दाताहरू, पार्टी नेता–कार्यकर्ता र स्थानीयवासी प्रति धन्यवाद व्यक्त गरेका थिए । काँग्रेस बाँकेका जिल्ला सचिव सुधांशु कोईरालाले सन्चालन गरेको कार्यक्रममा नेपाली काँग्रेसका नेता–कार्यकर्ता, शुभेच्छुक तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो ।


