
नेपालगञ्ज : पुसमहिना सुरु भएदेखिनै बाँकेमा बाक्लो हुस्सुले कठ्याग्रीदो जाडोले गार्दा जनजीवन प्रभावित भएको छ । मंसिर मसान्तसम्म बिहानैदेखि न्यानो घाम लाग्ने गरेको बाँकेमा पुष महिनाको पहिलो दिनदेखिनै हुस्सुले छपक्कै ढाकेको छ ।
नेपालगञ्ज बिमानस्थलबाट बाक्लो कुहीरोको कारण शुक्रबार कुनै पनि उडान हुन नसकेको विमानस्थल सुरक्षा प्रमुख बरिष्ट प्रहरी नायब निरिक्षक माधब रिजालले जानकारी दिए ।
नेपालगञ्जबाट दैनिक १३ उडान काठमाण्डौका लागि हुदै आएका थिए । शुक्रबार बाक्लो हुस्सुको कारण कुनैपनि उडान हुन सकेनन ।

शुक्रबार बिहान सबेरैदेखि लागेको हुस्सु दिनभरि पनि नखुल्दा चिसो बढेको छ । हुस्सु र चिसोका कारण दैनिक जनजीवन प्रभावित हुन थालेको छ भने सर्वसाधारण नागरिकहरू अत्यावश्यक कामकाज बाहेक घर बाहिर निस्किएका छैनन् ।
विशेष गरी ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगीहरू बढी प्रभावित भएका छन् । हुस्सुका कारण सवारी आवागमनमा समेत समस्या देखिएको छ भने बिहानको समयमा सडक दुर्घटनाको जोखिम पनि बढेको छ ।
मौसमविद्हरूका अनुसार केही दिनसम्म बाँकेसहित तराईका जिल्लामा हुस्सु र चिसो यथावत् रहने सम्भावना रहेको छ ।


